काठमाडौं, २१ असोज। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताए ।

Advertisement

उनले भने, ‘वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो । यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छौं।’

प्रचण्डले एउटै कम्युनिष्ट एकता बनाउने उद्देश्य अनुरुप तालमेल भएको समेत बताए । ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो ।

यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।’

संसदीय दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए ।

उनले भने, ‘एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ । एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुंगोमा पुग्छौँ । अहिले हाम्रा आआफ्नै वैचारिक मान्यता कायम छन् ।’

बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे अध्यक्ष प्रचण्डसँग प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए ।

त्यसको जवाफमा प्रचण्डले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न आग्रह गरे ।

यस्तै पार्टी एकता, आगामी निर्वाचनको तयारी तथा अन्य सांगठनिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजै पोलिटब्यूरोको बैठक बोलाएको छ ।

बैठकमा एमाले, नयाँ शक्तिसँग भएको पार्टी एकताको विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!