उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
वि.सं. २०७४ साल असोज २१ गते। शनिबार। इश्वी सन् २०१७ अक्टोबर ७ तारिख। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहला। शक्तिका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। सरकारी कामकाजमा अलमल हुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट फाइदा हुनेछ। रकम हातलागी भए पनि ऋणभार भने बढ्ने सम्भावना छ। सरसापटमा पनि धन बाहिरिन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ। लगानी धेरै लागे पनि कम प्रतिफल पाइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
मिहिनेत गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूको साथ जुट्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नचिताएको क्षेत्रबाट फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिवारजनको साथले उत्साहित भइनेछ। तर, प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। जीवनसाथीको स्वास्थ्यबारे चिन्ता बढ्न सक्छ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिएलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेतले प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुपक्षलाई किनारा लगाउन सफल भइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतीक्षित नतिजा कमजोर देखिन सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। हतारको निर्णयले हानि हुन सक्छ, योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले अध्ययनमा पनि प्रगति हुनेछ। रचनात्मक कार्य शुभारम्भ हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउन सक्छ। तापनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। आस मारेको नतिजा सकारात्मक हुनेछ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। (नेपाली पात्रो)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!