विराटनगर । कोशी प्रदेशमा डेंगु सङ्क्रमितको संख्या सबैभन्दा धेरै पाइएको छ । देशभर हालसम्म एक हजार ८१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये कोशीमा सबैभन्दा बढी दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बागमतीमा एक सय ९७, गण्डकीमा एक सय ८२, लुम्बिनीमा एक सय ६३, सुदूरपश्चिममा एक सय ५६, कर्णालीमा ३० र मधेश प्रदेशमा १४ जना सङ्क्रमित भएका छन् ।
विज्ञहरूका अनुसार मनसुनको अवधिमा डेंगु सङ्क्रमणको जोखिम बढी हुन्छ र अबको चार महिना थप जोखिम हुन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु सङ्क्रमित भेटिएका छन् ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु सङ्क्रमण नेपालमा पहिलो पटक सन् २००४ मा भेटिएको थियो । त्यसपछि सन् २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए भने २०१६ मा चितवन, झापा र रूपन्देहीमा यसले महामारीकै रूप लिएको थियो ।
यस्तै २०२० मा १८ हजार मानिस डेंगु सङ्क्रमित भए । सुनसरीको धरानबाट फैलिएको डेंगु ४३ जिल्लामा फैलिँदा १२ जनाको मृत्यु भएको थियो । सन् २०२२ मा ७७ वटै जिल्लामा ५४ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण भएकोमा ८८ जनाले ज्यान गुमाएका थिए ।
कोशी प्रदेशमा सन् २०२३ मा फैलिएको डेंगुले २० जनाको ज्यान लिएको थियो भने ५२ हजारभन्दा बढी सङ्क्रमित भएका थिए । सन् २०२४ मा ३५ हजारभन्दा बढी सङ्क्रमित हुँदा १३ जनाको मृत्यु भएको थियो ।