धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-२ सेलिङबाट गएराती ठूलो परिमाणमा गाँजा बरामद भएको छ । पिकअपमा राखेर लैजादै गरेको अवस्थामा धनकुटा र मोरङको सीमा क्षेत्रबाट राती करिब १ बजे ८९० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटाको बुढीमोरङबाट प्र १–०२–००२ च ५२३८ नम्बरको पिकअपभित्र २९ वटा बोरामा प्याक गरेर मोरङको केराबारीतर्फ लैजादै गरेको अवस्थामा गाँजा फेला परेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । गाँजासहित साँगुरीगढी गाउँपालिका-२, बुढीमोरङका १९ वर्षीय उल्लास लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ ।
गाँजा लैजाँदै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय राजारानी र ओख्रे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गाँजासहित लिम्बूलाई पक्राउ गरेको हो । सो क्रममा गाडी चालक भने प्रहरीलाई धकेलेर भागेको प्रहरीले जनाएको छ । चालकले धकेलेका कारण लड्दा प्रहरी जवान संजयकुमार थारू घाइते भएका छन् । लडेर उनको अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । डाँडाबजारस्थित स्थानीय क्लिनिकमा उनको उपचार भइरहेको छ ।
घटनास्थलबाट प्रहरीले को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।