संगालोखबर

विराटनगर । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो ।

Advertisement

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २१ करोड बेरुजु फछर्यौट भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीवकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकोमा आव २०७८/७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो । जसमा आव २०७८/७९ मा १ अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फछर्यौट गरिएको थियो ।

२०७८/७९ सम्म कूल बेरुजु ७६ करोड ९ लाख ७२ हजार रहेमा आव २०७९/८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा २३ करोड ८३ लाख फछर्यौट गरिएको थियो ।

२०७९/०८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०/०८१ मा २ करोड ८ लाख थपिएको सहित २१ करोड फछर्यौट भई आव २०८०/०८१ मा ३१ करोड ४६ लाख २५ हजार मात्र महानगरपालिकाको कूल बेरुजु बाँकी रहेको आर्थिक प्रशासन महाशाखाका प्रमुखले जानकारी दिए ।

जुन तीन आर्थिक वर्षअघि महानगरको कूल बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो । महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ छ । आव २०७९/०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकोमा २०८०/०८१ मा २ करोड ८ लाख मात्रै बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत मात्रै हो ।

महानगरका मेयर नागेश कोइरालाले आफू नेतृत्वमा आएदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको उल्लेख गरे । आफू नेतृत्वमा आउँदा झण्डै २ अर्ब बेरुजु रहेकामा हाल महानगरको कूल बेरुजु ३१ करोडमा झार्न सफल भएको मेयर कोइरालाको भनाइ छ ।

विराटनगरपछि ललितपुरमा कम बेरुजु देखिएको छ । ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५ करोड ५५ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल बजेटको ०.५२ प्रतिशत हो ।

भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँ लेखापरीक्षण गर्दा १० करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । जुन ०.९० प्रतिशत हो । काठमाडौं महानगरमा भने २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल रकमको २.४७ प्रतिशत हो ।

वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख रुपैयाँ लेखापरीक्षण हुँदा २२ करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.६२ प्रतिशत हो । महानगरहरूमध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा देखिएको छ । पोखराको १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!