धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १०ः३० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । धनकुटा जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
घाइतेमध्ये भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ, सोही स्थानका ६० वर्षीय देवी बिक र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ६० वर्षीय हंशबहादुर राईको अवस्था गम्भीर छ । भोजपुरको षडानन्द–१३ का २० वर्षीय सूर्यमणि तामाङ, अनमोल तामाङ, सुनसरीको बराहक्षेत्र–२ का ४८ वर्षीय कृष्ण राउत, भोजपुर–११ की २४ वर्षीया सविना बराईली र बस चालक सुनसरीको धरान–१३ का ५१ वर्षीय रुद्र तामाङ घाइते छन् ।
त्यस्तै भोजपुरको पौवादुम्बा–३ का ८० वर्षीय गंगाप्रसाद सापकोटा, भोजपुरको षडानन्द–११ की ५१ वर्षीया पूर्णमाया तामाङ, इटहरी–४ का १७ वर्षीय आयुष राई, धनकुटा–६ का ३४ वर्षीय धनकुमार बिक र साँगुरीगढी–६ की ६० वर्षीया दीर्घमाया राई पनि घाइते भएका छन् । गम्भीर घाइतेसहित १० जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने ४ जनाको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ । उकालो बाटोमा एक्कासि ब्रेक र स्टेरिङ फेल हुँदा पछाडि सरेर बस पल्टिएको ट्राफिक प्रहरीको भनाई छ ।