विराटनगर । सुनसरीको धरानबाट गत बिहीबार राति चोरी भएको बस विराटनगरमा फेला परेको छ । सुनसरीको धरान-८ स्थित एक ग्यारेजमा मर्मतका लागि राखिएको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले चोरी भएको बस विराटनगरको बखरीमा भेटिएको पुष्टि गरे । ‘आज बिहान बस फेला परेको हो’, उनले संगालोखबरसँग भने, ‘थप बुझ्ने काम भइरहेको छ । अनुसन्धानपछि बाँकी कुरा खुल्छ ।’
प्रदेश १-०२-००१-९७४९ नम्बरको बस हरेन्द्र चेम्जोङको भएको बुझिएको छ । बसका पाटपुर्जा टुक्र्याएर कवाडीमा बिक्री गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ । यद्यपि प्रहरीले अनुसन्धान कै क्रममा रहेको भन्दै बाँकी कुरा विस्तारै खुल्ने जनाएको छ ।