
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ टकुवा स्थित बङ्गाली टोलका लक्ष्मी पासवानको परिवार यतिबेला बिचल्लीमा छ । गत मंसिर १२ गते पाँच दशकअघि लक्ष्मीका बुबाले बनाएको घर अदालतको आदेशपछि भत्कियो । त्यही छेउमा उनीहरूले सामान्य घेराबेरा गरेर रात कटाउने टहरो बनाए ।
तर, उक्त टहरो पनि चैत १३ गते बिहीबार भत्काइएको छ । जसले आफ्नो परिवार बिचल्लीमा परेको लक्ष्मीले बताए । अहिले छिमेकीको घरमा पालैपालो शरण लिन बाध्य भएको उनले सुनाए ।
‘बुबाको नामले नै यो टोलको नाम बङ्गाली टोल रह्यो । हामी अहिलेदखि हैन जमानादेखि यही बस्दै आएका थियौँ’, उनले भने, ‘हामीलाई बस्ने विकल्प नदिई बारम्बार घर भत्काइँदा समस्या भएको छ । हाम्रो बस्न पाउने अधिकार छैन ?’
उनले यही कारणले आफूहरूको काम पनि प्रभावित भएको र दैनिक गुजारामा पनि समस्या थपिएको बताए । आफ्नो पाँच जनाको परिवार बिचल्लीमा रहेको र बस्ने व्यवस्था मिलाइदिन उनले सम्बन्धित निकायलाई आग्रह गरे ।
सुनवर्षी नगरपालिकाका दलित समुदाय अध्यक्ष श्याम विश्वकर्माले लक्ष्मीको परिवारको विचल्ली भएको सुनाए । यस विषयमा पहल भइरहेपनि कुनै ठोस निष्कर्ष ननिक्लिएको उनले बताए । लक्ष्मीको परिवारलाई बस्नको लागि आवश्यक प्रबन्ध मिलाइनुपर्ने उनको भनाइ छ ।
वडा नम्बर ५ का वडाध्यक्ष युगेश्वर प्रसाद ठाकुरले पहिलो पटक घर भत्किएको समयमा नै उनलाई नजिकै अर्को स्थानमा बस्न भनेको भएपनि आफैँले नमानेको बताउँछन् । ‘उहाँ आफ्नै पारामा चल्नुभाछ’, उनले भने, ‘कसैको कुरा नसुनेपछि केही गर्न नसकिने रहेछ । हामीले अब केही गर्नसक्ने अवस्था छैन ।’