विराटनगर । भारतको जोगवनीबाट सामान ल्याएर पसल-पसलमा बेच्दै गुजारा चलाउँदै आएका अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै दुई महिनादेखि सामान ल्याउन नदिएका कारण घरपरिवार चलाउन धौ-धौ भएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
आफूहरूले बाध्यताका बावजुत ट्राइसाइकल पेलेर आफ्नै लगानीमा सामान ल्याएर बेच्ने गरेको तर अहिले ल्याउन नदिँदा समस्या भएको बताएका छन् । उनीहरूले रोजगारीको व्यवस्था मिलाइदिनुपर्ने नत्र सामान ल्याएर बेच्न पाउनुपर्ने माग राखेका छन् ।
यसरी सामान ल्याउनेमा १६ जना बढीको समूह छ । ‘पसलको अर्डर अनुसार आफ्नै लगानीबाट सामान ल्याउने गरेका थियौँ’, विराटनगर-१३ का सञ्जय थापा मगरले भने, ‘त्यसैबाट दैनिक पाँच सय जति कमाइ हुन्थ्यो । घर परिवार चलाउन सहज हुन्थ्यो । अहिले समस्या थपिएको छ ।’
व्यापारीले परिचालन गरेका अन्य १५/२० जनाले नियमित सामान ल्याउँदा पनि प्रहरीले नरोक्ने तर आफूहरूलाई अनावश्यक दुःख दिएको उनले बताए । पत्रकार सम्मेलनमा उपस्थित उनीहरूले यसरी सामान ल्याउन परिचालन गर्ने व्यापारीको नाम समेत खुलाएका थिए । उनीहरूका अनुसार सामान ल्याउन प्रयोग गरिएका व्यक्ति विराटनगर बाहिरका हुन् ।
‘म लगायत हाम्रो समूहले १५ वर्षदेखि यसरी सामान ल्याएर गुजारा गर्दै आएका थियौँ । हामीलाई कसैले परिचालन गरेको हैन’, थापा मगरले भने, ‘हामीलाई रोजगारी दिनुपर्यो । रोजगारी दिन नसक्ने भए रोजिरोटीको बाटो खोस्न भएन ।’
आफूहरूले प्रतिबन्धित सामान कहिल्यै नल्याएको उनको भनाइ छ । ‘बाध्यता नभएको भए घामपानी नभनी ट्राइसाइकल पेल्ने रहर हामीलाई पनि छैन’, उनले थपे, ‘बालबालिका पढाउनदेखि घरपरिवार धान्ने माध्यम नै यही हो ।’
विराटनगर-४ का मोहम्मद कलामको खुट्टा चल्दैन । उनिपनि ट्राइसाइकलको सहायतामा जोगबनीबाट सामान ल्याएर गुजारा चलाउँदै आएका थिए । लामो समय जोगबनीबाट सामान ल्याएर बेचेका उनलाई सिटी सफारी चलाउने मुड चल्यो । किस्तामा सफारी पनि किने । तर, केही महिनामा नै बेच्न बाध्य हुनुपर्यो ।
‘आफ्नो सहजताका लागि हातले नै ब्रेक लगाउन मिल्ने बनाए । सुरक्षित साथ चलाउँदै थिए’, उनले भने, ‘तर, दिनहुँ ट्राफिकले अपाङ्गले चलाउन हुँदैन भनेर दुःख दिएपछि बेच्न बाध्य भए । हामीले के गर्नु । हाम्रो पनि त घरपरिवार छ । दैनिकी त चलाउनै पर्यो । तर हामीमाथि नै सबैतिरबाट अवरोध किन ?’
विराटनगर-६ का शम्भु दासले आफूहरूका लागि महानगरपालिकाले विकल्प खोजिदिनुपर्ने बताए । उनले महानगरपालिकाको स्वामित्वमा रहेका सटरहरू सहुलियत भाडादरमा उपलब्ध गराएर व्यवसाय गर्ने वातावरण तयार गरिदिन आग्रह गरे ।
‘सामान ल्याउन नदिने हो भने, हाम्रो जिविकोपार्जनको विकल्प नै छैन’, उनले भने, ‘त्यसकारण महानगरपालिकाले सटर व्यवस्थापन गरिदिएर जिविकोपार्जनको वातावरण तयार गरिदिनुपर्छ । नभए सामान ल्याउन रोक्नुभएन ।’
विराटनगर-४ जामुनगाछीका रमेश साह सामान ल्याउन रोकेर आफूहरूमाथि अन्याय गरेको बताउँछन् । ‘कानुन त सबैलाई बराबरी हुनुपर्ने हो नी’, उनी भन्छन्, ‘तर कसैलाई ल्याउन छुट छ, कसैलाई प्रतिबन्ध । इलाका प्रहरी कार्यालय रानीले थप दुःख दिएको हो ।’ उनीहरूले सात बुँदे मागपत्र पनि तयार पारेका छन् । कहिले महानगरले त कहिले प्रशासनले दुःख दिँदा समस्यामा परेको भन्दै उनीहरूले मागपत्र तयार गरेको बताए ।
कानुनी व्यवस्था अनुसार रोजगारीको व्यवस्था गरिनुपर्ने, खाद्यान्न सामाग्री ओसारपोसार गर्ने कार्य रोक्नका लागि वैकल्पिक सिप विकास तथा विउपूँजीको उपलब्ध गराउनुपर्ने र अपाङ्गता भएको व्यक्तिको घर परिवारको गाँस, बास तथा कपासको व्यवस्था सुनिश्चित गरिनुपर्ने उनीहरूको माग छ ।
यस्तै छोराछोरीहरूलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा व्यवस्था गरिनुपर्ने, स्वास्थ्य बिमाको व्यवस्था गरिनुपर्ने, खाद्यान्न सामाग्री ओसारपोसार गर्ने कार्य रोक लगाउदाँ तुरुन्त हामी र हाम्रो परिवारको जिम्मेवारी सरकारले लिएर आवश्यक व्यवस्था गरिदिनुपर्ने र रोजगार सुनिश्चित वा भिक्षा मागेर खाने परिचय पत्र उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ । माग सम्बोधन नभए केही दिनपछि आन्दोलनमा उत्रने उनीहरूले बताए ।