संगालोखबर संवाददाता

काठमाडौं, ५ असोज । नेपालीहरुको महान चाड दशैको पहिलो दिन आज घटस्थापना । विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौं, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

Advertisement

त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ ।

घटस्थापनाको शुभसाइत बिहान ९ः४१ मिनेटमा रहेको पञ्जाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

यस वर्षको दुर्गा पक्ष तिथि घटबढ नभई १५ दिनकै भएकाले शक्तिको साधनाका लागि राम्रो योग परेको छ । विगत वर्षमा कुनै तिथि घटबढ हुँदा दुर्गा पक्ष १४ दिन वा त्योभन्दा पनि कम हुने गथ्र्यो । यस वर्ष १५ दिनको दशैँ भएकाले देवीको आराधना गर्नका लागि राम्रो अवसर जुटेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई बध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आरधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानवजातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ । “दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीयरुपमा प्रमाण छैन, यो मानवमात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”– धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भन्नुभयो । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरकफरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । वडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दशैँ घर, कोत र शक्ति पीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ गरिन्छ । यसअवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई असोज १४ गते विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । असोज १४ गते देवी बिसर्जनको साइत बिहान ८ः०० बजेर एक मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १४ गते ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्यप्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।

आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी बिसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ ।

रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा बिदा दिएका छन् । अन्य कार्यालय भने असोज १० गते मंगलबारसम्म खुल्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement