
विराटनगर । कोशी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा जारी प्रधानमन्त्री कप-२०८१ छनोट प्रतियोगितामा झापा र सुनसरी विजयी भएका छन् । आज भएको खेलमा इलामलाई हराउँदै झापा र मोरङलाई हराउँदै सुनसरी विजयी भएका हुन् ।
बैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ । झापाले तीन खेल मध्ये दुईमा जित निकाल्दै चार अङ्क जोडेको छ । इलाम तीन खेलमै पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव २ बलमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल तयार पारेको थियो । एक सय १५ रनको लक्ष्य पछ्याएको झापाले ३८ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो ।
यस्तै मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले घरेलु टाली मोरङलाई ४६ रनले पराजित गरेको छ । सुनसरी तीन खेलमा नै जित निकालेर शीर्ष स्थानमा उक्लिएको छ ।
तीन खेल मध्ये दुईमा जित निकाल्दै मोरङले चार अङ्क जोडेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५४ रनको योगफल बनाएको थियो ।
एक सय ५५ रनको लक्ष्य पाएको मोरङले ४१ ओभरमा सवै विकेट गुमाउँदै एक सय ८ रन मात्रै बनाउन सक्यो । लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी पाँच टिमको सहभागिता छ ।















