विराटनगर । विराटनगरमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको छनोट प्रक्रिया सुरु भएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप-२०८१ को छनोट प्रतियोगिता सुरु भएको छ ।
विराटनगरको दुईवटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । बैजनाथपूर क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको उदयपुरले निर्धारित ४३ ओभरको खेलमा ३५ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ७६ रनको सामान्य योगफल बनाएको थियो । ७७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले १५ ओभरमा विकेट नगुमाइ लक्ष्य पूरा गरेको थियो ।
मेरिवोन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले इलामलाई ३८ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
९३ रनको विजयी लक्ष्य पाएको इलाम १७ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ५४ रन मात्रै बनाउन सक्यो । लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित पाँच टिमको सहभागिता रहेको छ । बिहीबार सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप-२०८१ मा छनोट गरिने छ ।