काठमाडौँ । विसं २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ ।
सिंहको २०औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको स्व सिंहको सालिकमा माल्यार्पण गर्दै काँग्रेस नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।
“नेपाली राष्ट्रिय राजनीतिमा स्व सिंहको जति गुणगान गाए पनि पुग्दैन”, नेता सिंहले भन्नुभयो ।
पदभन्दा पनि जनताको हकहितका लागि लड्ने व्यक्ति गणेशमान भएको चर्चा गर्दै उहाँले व्यक्तिगत स्वार्थभन्दा मुलुकको स्वार्थलाई प्राथमिकतामा राखेमात्र देश विकास हुने बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति सबुज बानियाँले स्व सिंह नेपाली राजनीतिका अनुकरणीय व्यक्ति भएको र उहाँबाट राजनीतिक दलले पाठ सिक्नुपर्ने बताउनुभयो ।