एजेन्सी, १ अशोज । जापानको होकाइडो द्वीपमा पछिल्लो १५ दिनभित्र दुई पटक एन्टी–एयरक्राफ्ट अलार्म सक्रिय गरियो । यो कुनै ड्रिलको हिस्सा नभई उत्तर कोरियाको मिसाइल परिक्षणपछि जारी गरिएको खतराको अलार्म थियो ।

Advertisement

पछिल्लो हप्ता जापानी सरकारले आफ्ना नागरिकका लागि अलर्ट जारी गर्यो । उक्त अलर्ट बिहान सात बजे जारी गरिएको थियो जसमा मानिसहरुलाई सुरक्षित स्थानमा शरण लिनका लागि आग्रह गरिएको थियो ।

त्यसको केही बेरपछि ७ बजेर ४ र ७ बजेर ६ मिनेटमा होकाइडो द्वीपमाथिबाट मिसाइल प्रक्षेपण गरियो जुन पछि समुन्द्रमा खस्यो । यसको अर्थ यो हो कि अलर्ट जारी भएपछि जापानीहरुसँग सुरक्षित स्थानमा जानका लागि मात्र चार मिनेटको समय थियो ।

उक्त मिसाइल परिक्षण पछि जापानले आखिर उत्तर कोरियाको मिसाइल किन तहसनहस नगरेको भन्ने प्रश्न तेर्सिन थालेका छन् ।

एवलिनो फुजीमोटो मेडिकलका विद्यार्थी हुन् । उनी उत्तर पश्चिम टोकियोमा बस्छन् । बीबीसीसँग कुराकानी गर्दै फुजीमोटोले भने, ‘जापानले पछिल्लो ७० वर्षमा कुनै पनि देशसँग युद्ध गरेको छैन । यस्तोमा सुरक्षित स्थानमा कसरी पुग्ने भन्ने कुनै अभ्यास छैन ।’

उनी थप्छन्, ‘जापान एक सुरक्षित राष्ट्र हो तर हामीलाई थाहा छैन कि उत्तर कोरियाका यी मिसाइलहरु कति विध्वंशकारी छन्, यसै कारण हामी डराएका छौं ।’

मिसाइल परिक्षणपछि जापानका रक्षामन्त्री इत्सुनोरी ओनदडेराले मिसाइलसँग जोडिएको जानकारी एकत्रित गर्ने क्रममा मिसाइल परिक्षणको लक्ष्य जापान नभएको पत्ता लगाए । उक्त मिसाइल होकाइडोबाट २ हजार २ सय किलोमिटर टाढा गएर खस्यो ।

तरपनि यदि यी मिसाइलको लक्ष्य जापान भएको भए यस्तो स्थितीमा जापानसँग के विकल्प रहन्थ्यो ?

जापानसँग कस्तो विकल्प ?

जापानसँग अहिले जुन मिसाइल डिफेन्स सिस्टम छ त्यसले दुई चरणमा काम गर्दछ । पहिलो चरणमा एजिस कम्ब्याट सिस्टम छ ।

यो सिस्टममार्फत तत्काल लञ्च गरिएका वा आधा उडान भरिसकेका मिसाइललाई रोकिन्छ ।

यस्तै अर्कोतर्फ, जापानसँग कम दूरी भएको स्वदेशी डिफेन्स सिस्टम (पेट्राइट सिस्टम) छ । यसको काम ती मिसाइललाई खसाल्नु हो जो लक्ष्यबाट भट्किन थाल्छ ।

हुन त यी दुबै सिस्टम उत्कृष्ट छन् तर यसका केही सीमा पनि छन् । एजिस सिस्टमले त्यतिबेला राम्रो तरिकाले काम गर्नसक्छ जब समुन्द्री जहाज सही समयमा सही स्थानमा रहेको हुन्छ ।

पेट्राइट सिस्टम सानो क्षेत्रका लागि त निकै प्रभावकारी साबित हुन्छ तर ठूला क्षेत्रमा यो सिस्टममार्फत सफलता हाँसिल गर्न सकिँदैन ।

हुन त जापानसँग अन्य पनि विकल्प छन् तर ती सबै निकै महँगा छन् र त्यसमा धेरै समय पनि लाग्ने गर्दछ ।

अमेरिकाको मद्दत लिनसक्छ जापानः

जापान आफ्नो इलाकामा हाई एल्टीट्यूड एरिया डिफेन्स टर्मिनल (थाड) को प्रयोग गर्नसक्छ । अमेरिका थाड सिस्टमको प्रयोग गुआम द्वीपमा गरिरहेको छ । साथै, दक्षिण कोरियामा पनि अमेरिकाले यो प्रणाली लगाएको छ ।

अन्तर्राष्ट्रिय नीतिको काउन्सिलको सदस्य जे. वर्कशायर मिलरले यसै वर्ष मार्च महिनामा विदेशी मामिलासम्बन्धि म्यागजिनमा लेखेका थिए, ‘थाडमार्फत् ठूला मिसाइल परिक्षण रोक्नमा सफलता पाउन सकिन्छ, यसले भीडभाडयुक्त इलाकामा हुने नोक्सानीलाई पनि रोक्न सक्छ ।’

तर यदि जापान आफ्नो क्षेत्रमा थाडजस्ता कुनै प्रणाली लगाउँछ भने चीनले यसको विरोध गर्नसक्छ । चीनले दक्षिण कोरियामा लगाइएको थाड सिस्टमको पनि विरोध गरेको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार जापानका रक्षा मन्त्रालयले उनीहरु मिसाइल परिक्षण रोक्नका लागि जमिनी स्तरमा कुनै सिस्टमलाई सुरु गर्न चाहन्छन्, उदाहरणका लागि एजिस एहोर, जसको मद्दतले जापानको आकाश माथिबाट जाने कुनै पनि मिसाइललाई रोक्न सकिन्छ ।

साथै, जापानका रक्षा अधिकारीका बिच उत्तर कोरियासँग सामना गर्नका लागि जापानले अमेरिकाको मद्दतबाट हतियार एकत्रित गर्नुपर्ने विषयमा चर्चा भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!