Sangalo Khabar

टोकियो, १ अशोज । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा बसेर नेपाल फिर्ता पठाइएका छन् ।

Advertisement

पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो ।

शनिबार अपरान्ह टोक्योस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेल र उनीसँगै रहेका स्वास्थ्यखबर पत्रिकाका प्रकाशक अनिल न्यौपानेलाई भने अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

केही घण्टा नियन्त्रणमा राखेर सोधपुछ गरेपछि उनीहरुलाई नेपाल फिर्ता पठाइएको छ । ‘हामीले अनेक कोसिस गर्दा पनि बाहिर ल्याउन सकिएन’ आयोजक नेपाली जनसम्र्पक समितिका प्रवक्ता सुरेश गिरीले अनलाइनखबरसँग भने- ‘उहाँहरुलाई फिर्ता पठाएको जानकारी इमिग्रेसनले दिएको छ, आजै राति नेपाल आइपुग्नुहुन्छ ।’

पौडेललाई रिहा गर्न टोक्योस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरे पनि सफल हुन सकेन । र, अन्ततः फिर्ता पठाइयो ।

जापानस्थित नेपाली जनसम्पर्क समितिको विश्वस्त सूत्रले दिएको जानकारी अनुसार उनीहरुका साथमा केही पार्टीसँग असम्बन्धित मानिसहरु पनि थिए ।

धनराज गुरुङपछि इमिग्रेसन जाँचमा पुगेका उनीहरुले जापानबाट नेपाल फर्किने कुरामा आश्वस्त पार्ने गरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल र न्यौपाने पनि उनीहरुसँगै नियन्त्रयणमा परेका हुन् ।

तर, प्रवक्ता गिरीले भने पौडेललाई स्पोन्सर गर्नेको फोन बेलामा नउठेको र र्फम भर्दा पेशा पत्रकार र राजनीतिज्ञ भनेर उल्लेख गरेको हुँदा अतिरिक्त निगरानीमा परेको दाबी गरे ।

गुरुङसँग रातो पासपोर्ट भएकाले बिना चेकजाँच सहजै आउन पाए पनि पौडेलसँग रातो पासपोर्ट नभएकाले समस्या आएको गिरीको भनाइ छ ।

जनसम्र्पक समितिले आइतबार साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् ।

यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेता कुमार पौडेल लगायतका नेतालाई पनि अध्यागमनबाट फर्काइएको थियो । त्यस्तै सीपी गजुरेल, पत्रकार ऋषि धमला लगायतलाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement