महोत्तरी, १ अशोज । स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ ।

दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए।

महोत्तरीका १५ स्थानीय निकायमध्ये पाँचवटाको सीमा भारतसँग जोडिएको छ । मटिहानी, जलेश्वर, मनरासिस्वा नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिकाको सिमाना भारतसँग जोडिएको छ । ३८ दशमलब चार किलोमिटर सीमाक्षेत्र सिल गरिएको छ।

निस्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गर्न भदौ ३१ गतेबिहान ७ बजेदेखि  असोज २ गते साँझ ७ बजेसम्मका लागि सीमानाका बन्द गरिएको प्रजिअ श्रेष्ठले बताए।

‘स्थानीय चुनावमा खुला सीमाको फाइदा उठाउँदै आपराधिक समूहले चलखेल गर्न सक्ने सम्भावनालाई ध्यानमा राखी सीमा सिल गरिएको छ,’  प्रजिअ श्रेष्ठले भने, ‘सीमा सिल अवधिमा कोही पनि सीमाबाट आवतजावत गर्न पाउने छैनन् ।’

निर्वाचनमा अन्तरदेशीय अपराध ठूलो चुनौती बन्न सक्ने ठहर गर्दै सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ श्रेष्ठले बताए । उनका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएकाले मतदाताले सुरक्षित भएको महसुस गरेको जनाए ।

सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन नेपाल–भारतका सुरक्षा निकायको संयुक्त गस्ती, सीमा नाकामा सघन चेक र हातहतियार भित्रिन नदिन विशेष निगरानी टोली परिचालन गरिएको प्रजिअ श्रेष्ठले बताए।

चुनावमा साना अवैध हतियार व्यवस्थापन चुनौती बनेको छ । प्रशासनले मदिरा पसल पनि राति आठ बजेपछि खोल्न रोक लगाएको छ।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!