काठमाडौं, १ अशोज । काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा नेपाललाई हङकङले जितका लागि ७७ रनको लक्ष्य दिएको छ ।

हङकङले दिएको ७७ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ सुरू गरेको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ३२ ओभर १ बलमा अलआउट हुँदै ७६ रन बनाउन सक्यो ।

Advertisement

खराब सुरुवात गरेको हङकङले पहिलो ओभरमै ओपनर राग कपुरलाई सुन्य रनमा गुमाएको थियो । उनलाई नेपालका नन्दन यादवले पहिलो ओभरको पाँचौ बलमा पेभेलियन फर्काएका थिए ।

पहिलो विकेट सस्तैमा गुमाए पनि हङकङलाई मध्यक्रमका ब्याट्सम्यानले सम्हाल्ने कोशिश गरेका थिए । हङकङका हरपृत सिंह र कप्तान झाथावेध एसएसले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे ।

रन आउट हुनुअघि झाथावेध एसएसले १६ रन बनाए । यस्तै तेस्रो विकेटका रुपमा आउट भएका ओपनर हरपृत सिंहले २० रन बनाए । हङकङको स्कोर मात्र ४५ रन हुँदा हरपृतलाई शाहव आलमले पेभेलियनको बाटो देखाएका थिए ।

हरपृत आउट भएपछि हङकङले लगातार विकेट गुमायो । हङकङले थप ३१ रन जोड्दा सात विकेट गुमाएको थियो । त्यसपछि हङकङका वाकोस खानले मात्र १५ रन जोडन सके । अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

हङकङलाई कम स्कोरमा रोक्न नेपाली बलर शाहव आलम र सन्दिप लामिछाने समान ३ – ३ विकेट लिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह एरी र नन्दन यादवले समान १ – १ विकेट लिए ।

अघिल्ला खेलमा शतप्रतिशत नतिजा निकालेको नेपाल आज हङकङलाई पराजित गर्दै उपाधि जित्ने योजनामा रहेको छ । यस्तै नेपाल एसिया कपको लागि छनोट हुने योजनामा हुने छ ।

उपाधि जित्ने टोली आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपको लागि छनोट हुने छन् ।एसिया कपमा टेष्ट मान्यताप्राप्त भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता बलियो टोलिको सहभागिता हुनेछ ।

इस्टर्न रिजनको छनोटको समूह ए मा रहेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भने नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।

यता, छनोटको समूह बि मा रहेको हङकङ पनि समूह बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । र, सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!