सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका-७ राम्चेका तारा कुमार कार्कीले अकबरे खोर्सानीबाट राम्रो आम्दानी गर्न थालेका थिए । करिब एक हजार पाँच सय बिरुवा लगाएका उनले हप्तामा ७० किलोसम्म खोर्सानी बिक्री गर्थे । तर सबै बोट बारीमा नै मरेपछि उनलाई चिन्ता थपिएको छ ।

डाँठ कुहिने, कालो हुने र बोटै मर्ने गरेको उनले सुनाए । उनले भने, ‘पहिला सामान्य समस्या देखिएको थियो । अहिले सबै बोट मरेर सखाप भए । आम्दानीको बाटो पनि हरायो । बारी पनि बाँझो हुनेभयो ।’

Advertisement

खोर्सानी खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएपनि विभिन्न रोगका कारण नोक्सानी बेहोर्न बाध्य हुनुपर्ने उनले सुनाए । पाख्रिबासकै सिराज भण्डारी ८ वर्षदेखि खोर्सानी खेतीमा सक्रिय थिए ।

तीन रोपनी क्षेत्रफलमा खोर्सानी लगाएका उनले हप्तामा एक सय किलोसम्म बिक्री गर्थे । तर पछिल्लो समय बोट मर्ने समस्याले उनलाई पनि पिरोलेको छ ।

उनी भन्छन्, ‘अहिले खोर्सानीको बोट मर्ने समस्याले पिरोलेको छ । केही गर्दापनि यसको रोकथाम गर्न सकिएन ।’ धनकुटामा अकबरे खोर्सानीको बोट मर्ने समस्याले अन्य कृषकलाई पनि चिन्तित तुल्याएको छ ।

कृषकले अन्य बालीको विकल्पमा खोर्सानी लगाउन सुरु गरेका थिए । धनकुटाको प्रायः सबै स्थानमा खोर्सानी खेती हुने गर्दछ । किसानले उत्पादन गरेको अकबरे खोर्सानी व्यापारीले घरबाटै प्रतिकिलो तीन सय रुपैयाँ सम्ममा खरिद गर्दै आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!