लहान । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले २ नं प्रदेशमा पनि आफ्नो पार्टीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

Advertisement

सिरहा धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “काँग्रेस, माओवादी केन्द्रलगायतका दलले जतिसुकै बल गरे पनि एमालेलाई २ नं प्रदेशमा पनि एक नम्बर पार्टी बन्नबाट रोक्न सकिन्न । ”

महासचिव पोखरेलले पहिलो र दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा जस्तै २ नं प्रदेशमा पनि एमालेप्रति जनलहर छाएको छ भन्दै “एमालेलाई मधेशका जनताले माया, ममता गर्दै हुर्काएको हो, त्यसैले पनि एमालेलाई यहाँका जनताले अत्यधिक मत दिएर पहिलो शक्ति बनाउने छन्” भन्नुभयो ।

नेकपा (एमाले)ले तराई मधेशको विकासका लागि गरेका कार्यहरु र तराई मधेशमा ठूला पूर्वाधार निर्माण गरेर औद्योगिकीकरण गरी युवालाई स्वरोजगार गर्न अघि सारेका एजेण्डाकै कारण एमाले पक्षमा तराई मधेशका जनता उत्साहित देखिएको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले केही राजनीतिक दलले तराई मधेश र पहाडको बीचमा भावनात्मक दूरी बढाउने कोशिस गरिरहेको आरोप लगाउँदै मधेश र पहाडका जनताबीच बढ्दै गएको दूरीलाई कम गर्न र एकापसमा जोड्न आफ्नो पार्टी अघि बढेको धारणा पनि व्यक्त गर्नुभयो ।

सभामा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले काँग्रेस, माओवादीको चुनावी एजेण्डालाई पहिलो र दोस्रो चरणमा निर्वाचन भएका प्रदेशका जनताले अस्वीकृत गरिसकेकाले २ नं प्रदेशका जनताले पनि उनीहरुको एजेण्डालाई अस्वीकृत गरी एमालेलाई जिताउने दाबी गर्नुभयो ।

एमालेबाट धनगढीमाई नगरपालिकाको प्रमुख पदका उम्मेदवार शिवशंकर महतो र उपप्रमुखका उम्मेदवार निर्मला पासवानले नगरपालिकाका विभिन्न वडामा देखिएको खानेपानीको समस्या समाधान गर्ने, नगरको समग्र विकासका लागि गुरुयोजना तयार गरी समृद्ध नगरपालिकाका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!