संगालोखबर
विराटनगरमा संक्रमण रोकथामका लागि सचेतनामूलक कार्यक्रम गरिँदै ।

विराटनगर । पछिल्लो समय देशभर डेङ्गुको सङ्क्रमण बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्याङ्क अनुसार देशका ७४ जिल्लामा यसको सङ्क्रमण फैलिसकेको छ । डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

यस्ता हुन्छन् मुख्य लक्षण

Advertisement

डेङ्गुको सङ्क्रमण भएमा उच्च ज्वरो आउन, जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने लगायतका लक्ष्यण देखिन्छन् । यस्तै शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु पनि डेङ्गुका लक्षणहरू हुन् । 

कसरी सुरक्षित रहने 

एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ  । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुनुपर्दछ । आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिँदा यसको जोखिम कम हुन्छ । पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनु पर्छ । 

यस्तै घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरिर ढाक्ने लुगा लगाउनु पर्दछ । 

पानी राख्ने भाँडाहरू जस्तै : ट्याङ्की, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नका साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने गर्नुपर्दछ । 

काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने, घर, विद्यालयको अँध्यारा कुनाकाप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क÷बेन्च मुनि आदि ठाउँहरुमा किटनाशक औषधि छर्कनाले पनि यसको संक्रमणबाट बच्न सकिन्छ । कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरू राम्ररी सफा गर्नुपर्दछ । 

लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडा खोजी खोजी सफा गरेर लामखुट्टेको फुल नष्ट गर्नुपर्दछ ।

लक्षणहरू देखिएमा के गर्ने  ?

डेङ्गुको लक्षण देखिएमा स्वास्थ्य संस्थामा गएर चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिन्ुपर्दछ । घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन गर्न हुँदैन । स्वास्थ्यकर्मीले अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुनुपर्दछ । साथै चिकित्सकको सल्लाह बिना कुनै औषधी सेवन गर्न हुँदैन । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!