काठमाडौं। मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

Advertisement

मलेसियास्थित किनरारा ओभलमा भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले मात्र ८ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले अविजित २३ रन जोडे ।

यस्तै अर्का ओपनर सन्दिप सुनारले २१ रन जोड्दा अनिल कुमार शाह ४ रनमा अविजित रहे । भुटानका छिरिङ पेन्जोरले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको भुटान २८ ओभरमा अलआउट हुँदै ५० रन बनाएको थियो । नेपाली बलर हावी भएपछि भुटानका ब्याट्सम्यानहरु सस्तैमा पेभेलियन फर्किएका थिए ।

भुटानका टासी फुन्टोशोले १६ तथा उगेन दोर्जीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका कप्तान दीपेन्द्र सिंह एरीले ८ ओभरमा २३ रन खर्चिएर ५ विकेट लिए । यस्तै सन्दिप लामिछानेले ७ ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए भने नन्दन यादवले एक विकेट लिएका छन् ।

यो जितसँगै समूह ए मा रहेको नेपालले एक खेल अगाबै सेमिफाइनल स्थान पक्का गरेको छ । जितपछि नेपाल दुई खेलबाट ४ अंक जोडेर समूहको शिर्ष स्थानमा समेत उक्लिएको छ ।

पहिलो खेलमा थाइल्याण्डलाई २५५ रनले पराजित गरेको नेपालले अन्तिम खेलमा बिहिबार सिंगापुरविरुद्ध खेल्नेछ । दुइ खेलमा जित निकालेर ४ अंक नै जोडेको सिंगापुर समूहको दोस्रो स्थानमा छ ।

एसिया कप छनोटको समूह बी मा भारत, मलेसिया, हङकङ र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!