काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । उनले अब एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचारसंहिता लागु हुने र सुरुवा-बढुवा एवं नियुक्तिहरु गर्न नपाइने स्पष्ट पारेका छन्।

रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’

आयोगले निश्पक्ष, स्वतन्त्र एवं स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै यादवले भने, ‘हामी स्वतन्त्र र निश्पक्ष रुपमा निर्वाचन गर्छौं ।’

प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गर्दै भने,’सफलता प्राप्त गर्नका लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ ।’

निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने यादवले बताए । उनले भने- ‘यादवले चुनावलाई चुनौतिभन्दा पनि अवसरका रुपमा लिएको उल्लेख गर्दै भने- ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा ऐनहरु आएका छन्, त्यसैले निर्वाचन हुन्छ ।’

प्रमुख आयुक्तले थपे- ‘अक्सिजनको सिलिण्डर बोकेर त मान्छेेले सगरमाथा चढेका छन्, निर्वाचन आयोगसँग त लगनशील कर्मचारीहरु छन्, आयोगसँग दक्ष जनशक्ति छ ।’

नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै प्रमुख आयुक्तले भने, ‘कुनै पनि साधान र स्रोतहरुको कमी हुन दिन्नौं भनेर सरकारले भनेको छ, आवश्यक जनशक्तिका लागि पूर्ण भरोसा दिलाएको छ ।’

चुनावका लागि सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको यादवले बताए । सरकारले खुट्टा कमाए आमसञ्चार साक्षी रहेको उनले बताए । यादवले भने- ‘दलहरुवीच विश्वासको वातावरण बढ्दै गइरहेको छ, आपसी सद्भाव देखिरहेको छु, छलफल भैरहेको छ, यो सकारात्मक कुरा हो।’

प्रमुख आयुक्त यादवले स्थानीय निर्वाचन देश र जनताका लागि अति आवश्यक रहेको बताउँदै भने- ‘यो निर्वाचन हाम्रो जीवनसँग जोडिएको छ, हाम्रो अधिकार खोसिएको अवस्थामा थियो, अहिले जनताको अधिकार प्राप्त भएको छ, अब चुनावले त्यो अधिकार सुनिश्चितता गर्छ ।’

अन्तरराष्ट्रिय जगतको पनि चुनावमा सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्दै यादवले भने- ‘आचारसंहिताको सीमाभित्र रहेर उहाँहरुको सद्भाव र सहयोगको अपेक्षा गरेका छौं।’

उनले स्थानीय तह पूर्नसंरचना अनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनका लागि आफूहरुले सरकारसँग आग्रह गरेको जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!