संगालोखबर

विराटनगर । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि प्रदेशसम्म त्यसको प्रभाव पर्ने भएको छ । सात प्रदेशमध्ये मधेश सरकारको बाहेक नेतृत्व बाँडफाँड गर्ने मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले गरेका छन् । यसको असर कोशी प्रदेशमा पनि पर्ने देखिएको छ ।

Advertisement

दुईबीचको सहमतिअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेकै हुने भनिएको छ । तर सरकारमा सहभागी हुने दलहरु भने फेरिने छन् । अहिले कोशी प्रदेश सरकारमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् भने नेकपा माओवादी केन्द्रका तीनजना मन्त्री सहभागी छन् ।

समीकरण परिवर्तनपछि अब नेतृत्व एमालेकै हुने भए पनि कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा भइरहेको छिटोछिटो राजनीतिक समीकरण परिवर्तनको असरले कोशी प्रदेशको दोस्रो कार्यकालयता छैटौं पटक सरकार परिवर्तन भइसकेको छ ।

कोशी प्रदेशसभामा एमाले र कांग्रेसका गरी ६९ जना सांसद रहेकाले यिनै दुई मिलेर सरकार बनाइने भएको नेताहरुले बताएका छन् । कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका ४० जना सांसद छन् । कांग्रेसका २९ जना छन् भने माओवादीका १३ र सभामुखसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जना सांसद छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका ४, र जनता समाजवादी पार्टी (जसपा) का एकजना सांसद छन् । सरकारलाई बहुमतका लागि ४७ जना सांसदको समर्थन भए पुग्छ । एमाले र कांग्रेस मिल्दा ६९ जनाको समर्थन रहन्छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार केन्द्रमा भएको समीकरण फेरबदलअनुसार कोशीमा पनि त्यसैअनुसार हुने लगभग निश्चित छ । केन्द्रीय नेतृत्वले गरेको सहमति पालना हुने उल्लेख गर्दै उनले कोशी सरकारमा हुने परिवर्तन वा थपघटबारे केही समयपछि टुंगो लाग्ने बताए ।

केन्द्रमा भएको सहमतिअनुसार कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार रहने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको भनाइ छ । सरकारमा सहभागी हुने सन्दर्भमा केन्द्रले दिने निर्देशनअनुसार अघि बढ्ने उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!