धनकुटा । पूर्वको मनोरम पर्यटकीय गन्तव्य हो– धनकुटाको भेडेटार । यहाँ दैनिक पर्यटकको आवतजावत चलिरहने भएकाले दर्जनौँ होटल व्यवसाय सञ्चालन हुँदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूले भेडेटार दैनिकजसो भरिभराउ हुने गर्दछ । भेडेटारमा पर्यटकलाई आकर्षित गर्न वार्षिक रूपमा खाना महोत्सवको आयोजना समेत गरिँदै आइएको छ । विशेषतः यस क्षेत्रमा भारतीय पर्यटकहरू आउने क्रम बढेको छ ।
साँगुरीगढी गाउँपालिका–६, स्थित पूर्वको पर्यटकीय गन्तव्यमा रहेको भेडेटार मुख्य गरी धरान–धनकुटा कोशी लोकमार्ग अन्तर्गत पर्दछ । भेडेटार मात्र नभई नजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटल भरिभराउ हुने गरेका छन्, जसले गर्दा होटल व्यवसायहरू राम्रोसँग सञ्चालन हँदै आएको होटल एशोसियसनका अध्यक्ष तुमराज लिम्बूले बताए । विश्वमा आएको कोरोना माहामारीका कारण नेपाल लगायत अन्य देशमा आर्थिक मन्दी भएको थियो । त्यसको असरले नेपालमा पनि केही समय आन्तरिक तथा वाह्य पर्यटन खस्किँदो अवस्था पुगेको तर पछिल्लो समय यसले पहिलाकै ट्रयाक लिएको भेडेटारका होटल व्यवसायीहरू बताउँछन् ।
प्रायः बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मीको समयमा पर्यटकको सङ्ख्या बाक्लो हुने गरेको छ । जसले गर्दा होटल व्यवसायलाई आर्थिक रूपले समेत लाभ हुने होटल एशोसियसन भेडेटारका पूर्वअध्यक्ष लिलाराज लावतीले बताए । भेडेटार सहित आसपासका क्षेत्रमा साना ठूला गरी करिब २ सय होटल सञ्चालनमा रहेका छन् । त्यसै अनुरूप प्रदेश सरकारले पनि यस क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्दै आएको छ । यस ठाउँमा रहेका पर्यटकी क्षेत्रको पहिचान गरी यस्ता पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले पूर्वाधार निर्माणमा बजेट छुट्याएर काम गर्ने साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए ।
त्यस्तै अहिले साँगुरीगढी गाउँपालिकामा रहेको नाम्जे थुम्कीमा निर्माणाधिन जनजाति पार्क निर्माणको काम अगाडि बढेको छ । गाउँपालिकाकै ठूलो पार्कको रूपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको हो । थुम्कीस्थित नाम्जेमा आदिवासी जनजातिहरूको संस्कार संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ३५ लाखको लागतमा जनजाति पार्क निर्माण सुरु गरेको थियो ।
हालसम्म प्रदेश सरकारले एक करोड ४४ लाख रुपैयाँ पार्कमा खर्च गरी निर्माणको काम अगाडि बढाई रहेको छ । पार्कको एक सभाहल र विभिन्न जातिका पहिचानको प्रतिमा राख्नका लागि स्तम्भहरू बनाउने काम भएको छ । गाउँपालिकाको बजेटले पार्क निर्माण सम्पन्न गर्न असम्भव भएकाले प्रदेश सरकारले काम गरी रहेकोे साँगुरीगढी गाउँपालिकाका अध्यक्ष राईले बताए ।
प्रदेश सरकारले नाम्जेमा पार्क निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस्तै चालु आर्थिक वर्ष २०७९/८० मा १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसो त अमेरिकी टेलिभिजन च्यानल सिएनएनले घुम्नै पर्ने विश्वको १२ औँ गन्तव्य सूचीमा नाम्जेलाई राखेको छ । तर पार्क निर्माणका लागि तीन करोड ७७ लाख ८७ हजार सहित अन्य बौद्ध गुम्बा, अतिथि गृह र शौचालय गरी करिब आठ करोडको डिपिआर रहेको स्थानीय बालकृष्ण राईले बताए ।
पूर्वकै प्रमुख पर्यटकीय स्थल भेडेटारबाट दुई किमी दक्षिण–पूर्वमा रहेको नाम्जे गाउँ मगर संस्कृति र होमस्टेले परिचित छ । साँगुरीगढी–६, स्थित नाम्जे प्राकृतिक रूपमा निक्कै आकर्षक र मनमोहक रहेको छ । नाम्जेलाई अमेरिकाको सञ्चार माध्यम सीएनएनले सन् २०१२ मा विश्वको १२ अनौठा गन्तव्य स्थल मध्ये आठौँ नम्बरमा राखेको थियो । नाम्जेमा रहेको होमस्टे भेडेटारबाट करिब ४ किलोमिटर र समुद्री सतहबाट करिब १५ सय ८५ मिटरको उचाइमा पर्दछ । सय क्षेत्रबाट सूर्योदय र तराईका अधिकांश जिल्लाहरूको मनमोहक दृश्य देख्न पाइन्छ । सडकमार्ग हुँदै सजिलै यहाँसम्म आइपुग्न सक्ने भएकाले पनि यो क्षेत्र पर्यटकको मुख्य आकर्षकको केन्द्र बन्दै गएको हो ।
भेडेटारबाट रबि–राँके सडक मार्ग अन्तर्गत पर्दछ मगर जातिको सामुदायिक होमस्टे । यहाँ ९५ प्रतिशत मगर जातिको मात्र एकल बसोबास रहेकोे छ । सिजन अनुसार उसिनेको आलु, स्कुसको जरा, मुन्टाको तरकारी र रायो साग, मकैको भात, लोकल कुखुराको मासु, बंगुरको सेकुवा, खसी बोकाको मासुका परिकारका साथै स्थानीय मौलिक हुर्रा नाच पनि प्रस्तुत गर्ने गरिन्छ ।
यहाँ मुख्यतया गर्मीको बेला गर्मी छल्न पर्यटकहरू आउने गरेका छन् । कतिपय पर्यटकहरू त बस्ने गरी आउने र रमाइलो गरेर जाने गरेका छन् । होमस्टेबाट मासिक करिब १ देखि १ लाख ५० हजार रुपैयाँसम्मको आम्दानी हुने गरेको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताए । यस होमस्टेलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०७५–७६ को उत्कृष्ट सामुदायिक होमस्टे समेत घोषणा गरेको थियो ।
यहाँ घुम्न आउने पर्यटकहरूलाई होमस्टेमा बास बस्दा न्यूनतम शुल्कमा सेवा दिन सकिने होमस्टे सञ्चालक बताउँछन् । प्रतिव्यक्ति एक छाक खाना र एक रात सुतेको न्यूनतम् २ सय ७५ रुपैयाँदेखि अधिकतम ४ सय रुपैयाँसम्म लिने गरिएको छ । होमस्टे सञ्चालन गरी आर्थिक उपार्जन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले अवलोकनमा आएको र यहाँ आफ्नै गाउँघरमा खाए जस्तै अर्गानिक खाना पाइएको संखुवासभाका सुगम खड्काले बताए ।
होमस्टेमा विशेषगरी तराईका झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका देशका विभिन्न ठाउँबाट पर्यटकहरू घुम्न र बस्न आउने गरेका छन् । प्रायः हप्ताको शुक्रबार र शनिबारका साथै बिदाको दिन बढी मात्रामा होमस्टेमा पर्यटकहरू बस्न आउने गरेका छन् । नाम्जे होमस्टेमा आउने पर्यटकहरूले नाम्जेको आत्मा बस्ने घर, सूर्याेदय बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरि रहेका टावर, नाम्जे डाँडाबाट तराईका समथर भू–भागहरू लगायत अवलोकन गर्न सक्छन् ।
होमस्टे अवलोकलमा आउँदा भोलिका दिनमा होमस्टे सञ्चालन गर्दा टेवा पुग्ने र सहयोग हुने साथै थप उर्जा समेत प्राप्त हुने अवलोकनमा आएका आन्तरिक पर्यटक जयनारायण खनालले बताए । पर्यटकीय स्थलहरू रहेका यी र यस्तै ठाउँमा पर्यटकहरूलाई सेवा दिने उद्देश्यले होमस्टे सञ्चालन गर्नुपर्ने आवश्यक छ । यसतर्फ सम्बधित निकायको पनि ध्यान जान जरुरी देखिन्छ ।
पर्यटक तान्दै चौविसेको रानीताल
धनकुटाको चौबिसे गाउँपालिकामा रहेको राजारानी बजार रानीतालकै नामबाट रहन आएको छ । राजारानी बजारमा अवस्थित रानीताल नयाँ आगन्तुकका लागि उपयुक्त पर्यटकीय स्थल बन्दै गएको छ । जसले गर्दा यहाँ पर्यटकहरूको मुख्य रोजाईमा समेत परेको छ । रानीताल पछिल्लो समय संरक्षण र प्रचारप्रसार भएसँगै पर्यटकहरूका लागि पर्यटकीय स्थल बन्दै गएको हो ।
चौविसे गाउँपालिका–६, स्थित राजारानी चारैतिर डाँडाकाँडाले ढाकिएको सानो उपत्यका सँगै रानीताल रहेको छ । पछिल्लो समय यहाँ पर्यटकहरूको सङ्ख्यामा वृद्धि भएसँगै चलहल पहल पनि बढ्न थालेको छ । यहाँ पावरक र महावरक पोखरी गरी दुईवटा पोखरी रहेका छन् । पावरक भन्नाले ‘बुवा’ र महावरक भन्नाले ‘आमा’ भन्ने अर्थ लाग्छ ।
किम्बदन्तीअनुसार यहाँ खदम राजा र खदम रानी नामका राजारानी बसेको इतिहास समेत पाईन्छ । वि.स. १८६२ मा दुवै ताल फुटेर पानी बाहिर गएपछि खदम राजा र खदम रानी पाँचथरको याङ्वरक गई बसेको कथन समेत उल्लेख छ । उनै राजारानीको नामबाट ताल र ठाउँको नाम रहन गएको बताइन्छ । राजारानीमा ताल मध्ये अहिले रानी तालमा मात्र पानी रहेको छ ।
यता चौविसे गाउँपालिकाले राजारानी ताल संरक्षणका लागि केही रकम छुट्याएर काम अगाडि बढाई रहेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताए । त्यसो त मिनी उपत्यका राजारानी आफैँमा सुन्दरताले भरिभराउ रहेको छ । यहाँ रहेको तालले राजारानीको सुन्दरतामा सुनमा सुगन्ध समेत थपेको छ । बोटिङको सुविधा रहेको ताल नजिकै पर्यटकलाई आकर्षित गर्न संरचना सहित पिकनिक स्पोर्ट बनाइएको छ । स्वच्छ र शितल मौसम सहित राजारानी रमणीय रहेको पर्यटक सेसेहाङ लावतीले बताए ।
भेडेटार—रवि—राँके सडकको पहुँचमा रहेको राजारानी पर्यटकीय क्षेत्र भेडेटारबाट करिब २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । भेडेटार होमस्टेका लागि प्रख्यात नाम्जे र डाँडाबजारका साथैै राजारानी पनि पर्यटकका लागि मुख्य गन्तव्य बन्दै गएको छ । यद्यपी यो क्षेत्रको थप पर्यटन प्रवर्द्धनका लागि स्थानीय संस्कृति र प्रकृति मैत्री ढङ्गले थप पूर्वाधारहरूको विकासमा जोड दिनुपर्ने आगन्तुक सुवास राईले बताए । घुमघामका लागि प्राकृतिक सुन्दरताले भरिएको राजारानी एक पर्यटकीय गन्तव्यको रोजाईमा नपर्नेमा दुइमत छैन । प्रचारप्रसारका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसतर्फ विषेश ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।
विशेषगरी तराई लगायत अन्य ठाउँको गर्मीको असर धेरै परेपछि धनकुटाको भेडेटार, नाम्जे र नमस्ते झरना लगायतका क्षेत्रमा पर्यटकको सङ्ख्याको बढ्ने गरेको पाइएको छ । पर्यटकहरूको आगमनले गर्दा नै यस ठाउँमा सञ्चालन भएका होटल व्यवसायीले आर्थिक कारोबार गर्न समेत सहज भएको छ, जसले गर्दा आर्थिक पक्ष सबल हुने देखिन्छ ।
यस क्षेत्रमा दैनिक करिब एक हजारभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । प्रायः यस स्थानमा नयाँ बर्ष, गर्मी मौसमका बेला र छुट्टीको समय पर्यटक आउने गरेका छन् । पहाडी भूगोल भएकाले यस क्षेत्रमा बादल आउने, छिनछिनमा घाम लाग्ने तथा हरदम चिसो हुने भेडेटारको विशेषता नै हो । नमस्ते झरनाको चिसो सम्झिएर पनि घुम्न आउने गरेको भारतको बिहारबाट आएका अभिषेक कुमारले बताए ।
चिसो मौसम मात्र नभई भेडेटार र नाम्जेबाट मनोरम दृ्श्यावलोकन गर्न र नमस्ते झरनामा चिसो पानीमा पर्यटकहरु रम्न आउने गरेका छन् । यी ठाउँमा पुर्वी तराईका साथै भारतको विभिन्न ठाउँबाट पर्यटक आउने गरेका छन्् । यहाँ दैनिक हजार बढी पर्यटक आउने गरेको नमस्ते झरना संरक्षण समितिका अध्यक्ष दिलिप लिम्बूले बताए । विश्वमहामारीको रूपमा फैलिएको कोरोना संक्रमणका कारण दुई बर्ष सुनसान रहेका यी पर्यटकीय क्षेत्र अहिले व्यूँतिदै गएका छन् । यस क्षेत्रमा तराई भन्दा पनि बढी भारतका विभिन्न स्थानमा गर्मी बढेसँगै गर्मी छल्न आउनेको घुइँचो लाग्ने गरेको झरना संरक्षण समितिका अध्यक्ष लिम्बुले बताए ।
त्यस्तै पछिल्लो समय धनकुटाका धार्मिक तथा पर्यटकी स्थलहरू ओझेलमा पर्दै गएका छन् । यस्ता ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूलाई पर्यटन र प्रवर्द्धनका लागि प्रदेश सरकारले काम गरेको छ । यसैगरी धनकुटाको पाख्रिवास नगरपालिका–७ स्थित मुगामा पर्यटकीय जलदेवी सिमसार पार्क छ । प्रदेश सरकारले पर्यटकीयस्थल समेत रहेको पार्क संरक्षण तथा निर्माणका लागि ७ करोड बजेट विनियोजन गरेको थियो ।
विनियोजन वजेटसँगै जलदेवी सिमसार पार्क पूर्वाधार व्यवस्थापनको काम सकिएको छ । यसका लागि आर्थिक वर्ष २०७७/०७८ मो दिवा संखर त्रिशक्ति जेभीले निर्माणको ठेक्का पाएको थियो । उक्त कम्पनीले ३ करोड ४४ लाख ३२ हजारमा पार्कको काम सम्पन्न गरेको हो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा आधुनिक संरचना निर्माण भएका छन् । पार्क संरक्षणका साथै यहाँ मन्दिर समेत बनाईएको छ ।
यहाँ पोखरी निर्माण, पोखरी वरिपरि रेलिङ, तारबेर, सिँढी, फलामे पुल र वाल लगाइएको छ । सिमसार क्षेत्र आकर्षण र मनमोहक देखिएसँगै पर्यटकहरूको समेत आवागमन हुन थालेको छ । अब भने सडकको पहुँचमा रहेका यस पर्यटकीय क्षेत्र पर्यटकको मुख्य गन्तव्य बन्ने देखिन्छ । प्रदेश सरकारको लगानीमा बनेका यी संरचनाहरू स्थानीय सरकारले संरक्षण गर्ने कुरामा चासो दिनुपर्ने अहिलेको आवश्यकता देखिएकोे छ ।
यहाँ ताल सँगै धार्मिक जलदेवी मन्दिर समेत रहेको छ । ओझेलमा परेको पर्यटकीय स्थलको रूपमा विकास गर्न प्रदेश सरकारले लगानी गरे पश्चात आकर्षित बनेको छ । उक्त पर्यटकीय क्षेत्र तथा जलदेवी ताल संरक्षणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरीे काम सकेको पाख्रीवास–७ का वडाध्यक्ष देवेन्द्र तामाङले बताए । तालको संरक्षण भएसँगै पर्यटकहरूको आकर्षण हुन थालेपछि होटल व्यवसाय समेत सञ्चालन हुन थालेका छन् । जलदेवी सिमसार ताल पाख्रीबास–सुनवालुवा सडकले छोएको छ । उक्त सिमसार ताल पर्यटकको रोजाईमा नपर्नेमा दुईमत छैन । त्यसो त पर्यटकहरूको आवागमनले गर्दा गाउँघरमा उत्पादन भएका वस्तु बेचविखन भएकाले स्थानीय आर्थिक रूपले सवल हुने स्थानीय करविर राईले बताए ।
यतिबेला धनकुटाको पाख्रीवास बजार क्षेत्रमा पर्यटकको चाप बढ्दो रहेको छ । यस ठाउँमा तराई तथा छिमेकी जिल्ला भारतबाट पनि पर्यटकहरू आउने गरेका छन् । त्यसो त गर्मी याम सुरु भएसँगै गर्मी छल्न तथा मनोरञ्जनका लागि पाख्रीवास आइपुग्ने गरेका छन् ।
कुनै बेला पोखरीको रूपमा रहेको पाख्रिबास स्थित संसारी सिमसार क्षेत्र अहिले भने पर्यटकको आकर्षक बन्दै गएको छ । त्यसो त पूर्वी पहाडी जिल्लाहरूमध्येको धनकुटा पर्यटकहरूको प्रमुख गन्तव्य स्थल वा रोजाईमा पर्न थालेको छ । पछिल्लो समय यहाँ वनभोजका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूकोे उपस्थिति बाक्लो देखिने गरेको छ । जिल्ला सदरमुकाम धनकुटादेखि करिब १८ किलोमिटरको उत्तर पश्चिममा अवस्थित छ पाख्रिबास । पाख्रिबास नगरपालिका–४ स्थित बजारदेखि करिब २ सय मिटर नजिकै संसारी सिमसार पर्यटकीय क्षेत्र छ । त्यही सिमसार क्षेत्र अहिले पर्यटकहरूको प्रमुख गन्तव्यको रोजाईमा पर्न थालेको हो ।
२०६९ सालदेखि सुरु भएको यस सिमसार क्षेत्रमा अहिले कोशी प्रदेश लगायत अन्य जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न, वनभोज र मनोरञ्जनका लागि आउने गरेका छन् । यस संसारी सिमसार क्षेत्रमा ४–५ वटा ताल, तालको वरिपरि चिया बगान, बुद्धको मूर्ति, चिडियाखाना छन् । तालमा रमाउनका लागि बोटिङको समेत व्यवस्था छ । यहाँ काठमाडौं, मोरङ, सुनसरी, झापा र छिमेकी देश भारतबाट समेत पर्यटकहरु घुम्न आउने गरेका संसारी सिमसार क्षेत्रका कर्मचारी फत्तबहादु बस्नेतले बताए ।
यस क्षेत्रमा विशेष गरी विद्यार्थीहरू अध्ययन अवलोकनमा आउने गरेका छन् । शैक्षिक अवलोकनका लागि घुम्न आउँदा यहाँ प्राकृतिक रूपमा रहेको पर्यटकीय क्षेत्र देख्दा राम्रो र अझ घुम्न लायक बनेको छ । जो यहाँ आई नपुगेको हुनुहुन्छ एक पटक आउनुपर्ने तथा यहाँको व्यवस्थापन पक्षदेखि लिएर सम्पूर्ण पक्ष राम्रो रहेको सरस्वती माविबाट आएका शिक्षक शैलेन्द्र नेपालले बताए । कतिपय ठाउँ सुनेको र सामाजिक सञ्जाल मार्फत् देखेको भएर पनि यस ठाउँमा आउने गरेको पाइन्छ । जति पनि सुनिएको छ त्योभन्दा राम्रो रहेको सुनसरी इनरुवाबाट आएकी शिक्षिका रमिला प्रधानले बताइन् ।
पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पाख्रिवास नगरपालिकाले पनि पहलकदम गरिरहेको नगर प्रमुख ज्ञानबहादुर गुरुङले बताए । वार्षिक रूपमा योजना संचालन गरी सिमसार क्षेत्रलाई आवश्यक भौतिक निर्माण र अझ आकर्षक बनाउन आफू र सरोकारवालाहरू लागीपरेको प्रमुख गुरुङले बताए । यो क्षेत्रमा पर्यटकको रोजाई बढेसँगै यहाँका होटल तथा व्यवसायले समेत राम्रो आम्दानी लिई रहेका छन् । त्यसो त यो पर्यटकीय क्षेत्र धनकुटाको छिमेकी जिल्लाहरू तेह्रथुम, संखुवासभा, भोजपुर र खोटाङ जिल्लाबाट सवैभन्दा नजिक पर्दछन् । जसले गर्दा यस क्षेत्रबाट आन्तरिक पर्यटकहरू पनि आइरहने गरेका छन् ।
सूर्योदयका लागि ध्वजे डाँडामा पर्यटक
धनकुटाको डाँडाबजार स्थित ध्वजेडाँडालाई सूर्योदय दृष्यावलोकनका लागि इलामको श्रीअन्तुसँग तुलना गर्ने गरिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५, मा रहेको ध्वजेडाँडा समुद्री सतहबाट २०४७ मिटरको उचाइमा रहेको छ । दैनिक हजारौँ पर्यटक सूर्योदय हेर्न श्रीअन्तु पुग्ने गरे तापनि पछिल्लो समय ध्वजेडाँडामा पनि पूर्वाधारहरू निर्माण हुने र प्रचारप्रसार भए सँगै पर्यटकहरू पुग्ने गरेका छन् । खासगरी यहाँ सुर्योदयको मनोरम दृष्य हेर्न पर्यटक पुग्ने गरेका छन् ।
श्रीअन्तु र ध्वजेडाँडा दुबै ठाउँ पुग्ने पर्यटक सूर्याेदयको दृष्य अन्तु र यहाँवाट उस्तै देखिने गरेको बताउँछन् । यहाँबाट सूर्याेदय सहित पूर्व तथा कोशी प्रदेशका अधिकांश जिल्लाहरू, तराईका समथर फाँट, पर्वत श्रृङ्खला र विभिन्न हिमश्रृखङ्लाहरू समेत देख्न सकिने स्थानीय सुनिता लिम्बूले बताईन् ।
पूर्वको पर्यटकीय नगरी भेडेटारबाट १३ किलोमिटर पूर्वमा रहेको यस ध्वजेडाँडासम्म पुग्ने सडक, खानेपानी लगायतका पुर्वाधारहरू विकास भएसँगै पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । यस क्षेत्रमा पर्यटक भित्राउन होमस्टे, सडक लगायतका पूर्वाधार निर्माणको काम गरिरहेको साँगुरीगढी गाँउपालिका–५, का वडाध्यक्ष खड्ग लिम्बूले बताए ।
नेपालको नक्सा निर्माणमा अक्षांश र देशान्तर टुङ्गो लगाउन विशेषज्ञले समेत यो डाँडालाई प्रयोग गर्ने गरेको विकी पिडियामा उल्लेख छ । ध्वजेडाँडासहित आसपासका क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धन अझ विकास हुने देखिन्छ ।