म्यान्चेस्टर । म्यान्चेस्टर सिटीले १० खेलाडीमा सिमित लिभरपुलविरुद्ध गोलको वर्षा गर्दै शीर्ष स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडसँग अंक बराबर गरेको छ ।

Advertisement

खेलको २४ औँ मिनेटमा सर्जियो एगुएरोको गोलले पछि परेको लिभरपुल खेलको ३७ औँ मिनेटमा साडियो मानेले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित बनेको थियो ।

बल नियन्त्रण गर्ने क्रममा मानेले सिटीका गोल किपर एडर्सनको अनुहारमा लात्ता हान्न पुगेका थियो । उनको स्थानमा क्लाउडियो ब्राभो मैदानमा छिरेका थिए ।

त्यसपछि सिटीले गोलको वर्षा नै गरेको थियो । ग्याब्रियल जिसस र लेरोय सानेले दुई–दुई गोल गरेपछि सिटीले लिभरपुल विरुद्ध सन् १९३७ पछि कै ठूलो जीत हासिल गर्न सफल रह्यो ।

जर्गन क्लपले लिभरपुलका प्रशिक्षकको रुपमा बेहोरेको यो सबैभन्दा ठूलो हार पनि हो ।

उता, म्यान्चेस्टर युनाइटेडले भने स्टोक सिटीसँग बराबर गर्दै पहिलो पटक अंक गुमाएको छ ।

युनाइटेडले ५३५ मिनेटको खेलपछि पहिलो गोल खाँदै खेलमा पछि परेको थियो । स्टोकका लागि एरिक म्याक्सिम चुपो मोटिङले खेलको ४३ औँ मिनेटमा स्टोकलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन लाग्दा मार्कस रासफोर्डले खेल बराबरी ल्याए ।

दोस्रो हाफमा रोमेलु लुकाकुले युनाइटेडलाई अग्रता दिलाए पनि चुपो मोटिङले फेरि खेल बराबरी गरेका थिए ।

४ खेलपछि युनाइटेडको १० अंक रहेको छ ।

हिजो भएको अन्य खेलमा चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लेको छ ।

चेल्सीका लागि अल्भारो मोराटा र लेस्टरकै पूर्व खेलाडी एन्गोलो कान्टेले १–१ गोल गरे भने लेस्टरका लागि एक मात्र गोल जेमी भार्डीले पेनाल्टीबाट गरेका थिए ।

उता, आर्सनलले भने बोर्नेमाउथलाई पराजीत गर्दै जितको बाटोमा फर्किएको छ । आर्सनललाई जीत दिलाउन ड्यानी वेलब्याकले दुई तथा अलेक्सान्डर लाकाजेटले एक गोल गरे ।

त्यस्तै, अर्को लण्डन क्लब टोटनहमले एभर्टनलाई उसैको घरेलु मैदानमा ३–० ले पराजित गरेको छ ।

टोटनहमको जीतमा ह्यारी केनले दुई तथा क्रिस्टियन एरिक्सनले एक गोल गरे ।

स्पर्स लिगको पाँचौ स्थानमा रहेको छ भने आर्सनल लिगको नवौँ स्थानमा रहेको छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!