झापा। झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ ।
बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो ।
सो कार्य भने अहिले स्थानीयवासीको चर्को विरोधपछि रोकिएको छ । तर, निजी जग्गाको माटो कटान गरेर बिक्री गर्दा भूक्षय हुन सक्ने भन्दै स्थानीयवासीले विरोध जनाइरहेका छन् ।
माटो दिनानुदिन कटान गरेर बिक्री गर्दा अग्लो डाँडो भत्कने भन्दै त्यस्तो कार्य रोकिनुपर्ने गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका अध्यक्ष मधुराम पनेरु बताउँछन् ।
समुद्री सतहबाट ३०० मिटर उचाइमा रहेको कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको मन्दिरसमेत रहेको छ । यहाँ प्रत्येक वर्ष शिवरात्रि, बालाचतुर्दशीमा मेला लाग्ने गर्छ ।
अग्लो भूभागमा मठ मन्दिर रहेको र वरिपरिको जमिन कटान गरेर माटो बिक्री गर्दा टापूमा परिणत भएको कञ्चनगढ आसपासको जमिन भत्किन थालेपछि मन्दिर र अन्य पुरातात्विक सम्पदाको विनाश हुने भन्दै बाह्रदशी आसपासको जमिन कटान बन्द गर्नुपर्ने माग गर्दै सर्वसाधारणले बाह्रदशी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथा र श्रीमद्भागवतको अष्टम स्कन्धमा यहाँको चर्चा भएको पाइन्छ । जसअनुसार समुद्र मन्थनका क्रममा भगवान् शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्य पतन हँुदा उक्त स्थानको निर्माण भएको र वीर्य पतन सँगसँगै सुनचाँदी, हीरामोती आदिसमेत पतन भएको किंवदन्ती रहेको यस स्थानमा विसं १९९० तिर एक साधुले कुटी बनाएर बसेकाले यस स्थानलाई साधुकुटीसमेत भन्ने गरिएको छ ।
साधुकुटी नामले परिचित यो स्थान वरिपरिको माटो कटान गर्दै त्यहाँ आसपास रहेका इँटाभट्टालाई माटो बिक्री र खोलाबाट नदीजन्य सामग्री निकाल्न बन्द हुँदा त्यहाँको माटो पुरुवाका लागि समेत बिक्री हुने गरेको अध्यक्ष पनेरुले बताए ।
दैनिक दर्जनभन्दा बढी टिपरले यहाँको माटो कटान गर्दै अन्यत्र लैजाँदा ऐतिहासिक महत्व बोकेको यो स्थान अस्तित्व संकटसँगै कुरुप हुँदैछ ।
साधुकुटीमा गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमसमेत निर्माण गरिएको छ । यहाँ आवाससहितको वटुकका लागि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । जनस्तरबाट आर्थिक स्रोत जुटाएर लामो समयदेखि यहाँ बटुकलाई राखेर शिक्षा प्रदान गरिँदै आइएको छ ।
यहाँको अर्को विशेषता भनेको गौरीशंकर शिवालय मन्दिरकै छेउमा झण्डै २०० वर्ष पुरानो एक वृक्ष छ । हाँगाबाट जरा पलाएर सो वृक्ष झांगिएको छ ।
ब्रम्हानिष्ट १००८ स्वामी डा रामानन्द गिरीजस्ता विद्वान्ले पदार्पण गरेको यस स्थान तीन बिगाह १८ कट्ठा क्षेत्रफलमा फैलिएको छ । १८औँ शताब्दीतिर यो स्थान पत्ता लगाएका एक साधुले अलौकिक वृक्षको फेदमा त्रिशूल गाडी धुनी जगाई बसेको वृक्ष अझै पनि रहेको मानिँदै आएको छ ।
विसं १९९३ मा नापी भएपछि ठाना र बजारको समेत यहाँ व्यवस्था थियो । तर, २००७ सालको क्रान्तिपछि यहाँका कार्यालय सारिएका थिए । ऐतिहासिक र पौराणिक महत्व बोकेको यो ठाउँको माटो दिनानुदिनको कटानले गर्दा वातावरणमा समेत असर परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले यो स्थानको संरक्षका लागि जुटिदिन सबैलाई आग्रहसमेत गरेका छन् । -रासस