मोहन ढकाल/संगालोखबर
चिया बगान सञ्चालक विनाकुमारी सुब्बा (राई) तस्बिर : मोहन ढकाल/संगालोखबर

विराटनगर । चिया बगान भन्ने बित्तिकै सबैले सम्झने नाम हो इलाम । इलाम बाहेकका ठाउँका चिया बगान पनि धेरैलाई थाहा छ । तर मोरङमा पनि चिया बगान छ भन्ने थोरैलाई मात्र थाहा होला । धेरैलाई त अचम्म लाग्न सक्छ । गर्मी ठाउँ, त्यसमाथि समथर भू-भागमा कहाँ होला चिया बगान ?  तर मोरङको ‘कर्णाली’ भनेर चिनिने केराबारी गाउँपालिका-२ सिंहदेवीमा २०५५ सालदेखि चिया बगान विस्तार भएको हो ।

छिन-छिनमा मौसम परिवर्तन भइरहने उत्तरी मोरङको पहाडी क्षेत्रमा पर्ने यो स्थानमा ‘मातृभूमि टि स्टेट’ नामबाट सञ्चालित चिया बगान अहिले ५ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । 

Advertisement

‘२०५५ सालमा ५ रोपनी क्षेत्रफलबाट सुरु गरेका हौँ’, चिया बगान सञ्चालक विनाकुमारी सुब्बा (राई) ले भनिन्, ‘अहिले करिब ५ सय रोपनीमा विस्तार भएको छ । त्यो बेला काम गर्ने मान्छे पाउन पनि सहज थियो । अहिले काम गर्ने मान्छे नपाउँदा समस्या हुने गरेको छ ।’

अहिले बढ्दो वैदेशिक रोजगारीका कारण काम गर्ने मान्छे पाउन समस्या हुनेगरेको उनले सुनाइन् । भौगोलिक हिसाबले बिकट यस क्षेत्रसम्म पुग्न सडक पूर्वाधार विस्तार भएपनि पर्याप्त छैन । बगानबाट वार्षिक ३ हजार किलो प्रशोधित चिया उत्पादन हुँदै आएको छ ।

यहाँ उत्पादन भएको चिया अर्गानिक हबबाट विभिन्न स्थानमा पठाउने गरेको सञ्चालिका सुब्बाले बताइन् । यो बाहेक दुबई, युके, हङ्कङ, मलेसिया लगायतका स्थानमा पनि थोरै मात्रामा पठाउने गरिएको छ । ‘ग्रीन टी लुजमा प्रतिकिलो २५ सय र ब्ल्याक टी २ हजार रुपैयाँमा बिक्री गर्दै आएका छौँ’, उनले भनिन्, ‘अर्गानिक हबलाई वार्षिक ३ हजार किलो दिने सम्झौता छ । त्यस बाहेकको अन्य स्थानमा पठाउने गरेका छौँ ।’

अहिले प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् । आवश्यक परेको खण्डमा थप मान्छेहरूले पनि रोजगारी पाउँछन् । आफूले गरेको व्यवसायमा सरकारको तर्फबाट कुनै सहयोग नपाएको प्रति उनको गुनासो छ ।

खोर्साने हुँदै जेफाले पुग्ने कच्ची सडक ।

‘मोरङको एकमात्र चिया बगान हो । यहाँ चिया तथा कफी विकास बोर्ड पनि छैन । कुनै प्राविधिक सपोर्ट पनि पाएको छैन’, उनले थपिन्, ‘कहिलेकाँही हिलेबाट सहयोग हुँदै आएको थियो । त्यो पनि श्रीमानको निधन भएपछि रोकिएको छ । आफ्नै तरिकाले चल्नु परेको छ ।’

सडक विस्तार भएपनि कच्ची भएका कारण सामानहरू ल्याउन र पुर्याउन समस्या हुँदै आएको छ । केराबारीतर्फको सडक स्तरोन्नति भएका ३६ किलोमिटरको यात्रापछि खोर्साने पुगिन्छ । तर अहिले त्यो बाटो छिचोल्न धेरै समय लाग्ने गरेको छ । बर्खाको समयमा त यात्रा गर्ने समस्या हुनेगरेको उनले सुनाइन् । धनकुटाको भेडेटार, नाम्चे, राजारानी हुँदै पनि यो स्थान पुगिन्छ । तर लामो सडकदुरी पार गर्नुपर्ने बाध्यता छ ।

‘सबैभन्दा समस्या त सडकको हो । समयमा सामान ल्याउन र पुर्याउन सकिँदैन’, उनले थपिन्, ‘वैदेशिक रोजगार र सहरकेन्द्रित जनजिवनका कारण काम गर्ने मान्छे पाउन पनि समस्या छ । ताप्लेजुङबाट एक परिवार नै ल्याएर राखेको छु । अन्य स्थानबाट काम गर्ने मान्छे खोज्नुपर्ने बाध्यता छ ।’

तीनै तहको सरकारले सपोर्ट गरेको खण्डमा थप सहज हुने उनले बताइन् । तर अहिलेसम्म सरकारी पक्षबाट कुनै सहयोग नपाएको उनको गुनासो छ । ‘सामान्य लोनसम्म त सरकारले दिन सकेको छैन’, उनले गुनासो गर्दै भनिन्, ‘यो स्थानमा स्थानीय सरकारको त नजर परेको छैन । अन्यको त के कुरा गर्नु ।’

विदेशीको गाली बन्यो प्रेरणाको श्रोत

उनका श्रीमान नारायण प्रसाद राई वैदेशिक रोजगारीमा ओमानमा रहेको समयमा त्यहाँका मान्छेहरूले नेपालको चिया मगाउन भनेका थिए । सोही अनुसार विनाकुमारीले चिया खरिद गरेर काठमाडौंसम्म पठाइन् । तर त्यो चिया ओमानसम्म पुग्न पाएन । त्यसपछि उनीहरूले श्रीमानलाई गाली गरेको उनले स्मरण गरिन् ।

‘यसको पृष्ठभूमि छुट्टै छ । मेरो श्रीमान (नारायण प्रसाद राई) ओमानमा काम गर्नुहुन्थ्यो । त्यहाँका मान्छेले नेपालको चियाको बारेमा सुनेका रहेछन्’, उनले भनिन्, ‘त्यसपछि उनीहरूले सेम्पल मगाउन श्रीमानलाई भनेपछि मैले यताबाट चिया खरिद गरेर काठमाडौंसम्म पुर्याए । तर ओमानसम्म पुग्न सकेन ।’

त्यो समयमा फोन थिएन । जसका कारण सूचना आदान-प्रदानका लागि चिठ्ठीको भर पर्नुपर्ने अवस्था थियो । चिया ओमानसम्म पुग्न नसकेको कारण पनि उनलाई थाहा भएन । उनको २ लाख रुपैयाँ त्यत्तिकै डुब्यो । उनीहरूले श्रीमानलाई गरेको गाली आफूहरूका लागी प्रेरणाको श्रोत बनेको उनले सुनाइन् ।

‘आफूले पठाएको चिया उहाँसम्म पुग्न सकेन । त्यसपछि उनीहरूलाई श्रीमानले ढाँटेजस्तो भएछ । मेरो २ लाख पनि डुब्यो’, उनले सम्झिँदै भनिन्, ‘त्यसपछि श्रीमान विदेशबाट फर्किएपछि चिया खेती गर्ने सोच आयो र सुरु गरियो ।’

आफूले गरेको व्यवसायबाट सन्तुष्ट भएपनि सरकारको उदासिनतादेखि उनी सन्तुष्ट छैनन् । आफूजस्ता व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । मोरङको जेफाले प्रमुख पर्यटकीय गन्तव्य पनि हो । चिया बगानले यहाँ आउने पर्यटकलाई थप आकर्षित गरेको स्थानीय बताउँछन् । तर भौगोलिक विकटताका कारण अझै पनि यो क्षेत्र ओझेलमा परेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!