संगालोखबर

विराटनगर । कोशी प्रदेशमा हाल ५१४.२ मेगावाट बिजुली उत्पादन भइरहेको छ । कोशीका विभिन्न जिल्लामा रहेका ४२ वटा जलविद्युत् आयोजनाबाट त्यति परिमाण बिजुली उत्पादन भइरहेको हो ।

Advertisement

प्रदेश योजना आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रदेशमा ११ वटा आयोजनाबाट १२१ मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । चार वर्षमा ३९३.२ मेगावाट विद्युत् थपिएको हो ।

कोशी प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ सम्म २५०० मेगावाट उत्पादन गर्ने लक्ष्य थियो । कतिपय योजना निर्माणाधीन अवस्थामै छन् । केही अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

यसैगरी, चार वर्षयताको अवधिमा प्रदेशका ५१ हजार हेक्टरमा सिँचाइको सुविधा थपिएको तथ्यांक छ । यति थपिएपछि प्रदेशमा सिँचाइ पुगेको जमिन ३ लाख २७ हजार हेक्टर पुगेको छ ।

प्रदेशले पाँच वर्षमा प्रदेशको कुल ग्राहस्थ उत्पादन ८ खर्ब ३ अर्ब ५६ करोड पुर्याउने लक्ष्य राखेकामा चौथो आर्थिक वर्षमै लक्ष्यभन्दा बढी ८ खर्ब ४९ अर्ब ६५ करोड पुगेको जनाइएको छ ।

ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई २३.६१ प्रतिशत बनाउने लक्ष्य थियो । तर आधार वर्ष २०७६/७७ भन्दा योगदान घटेको छ । आधार वर्षमा उद्योग क्षेत्रको योगदान १९.०६ प्रतिशत थियो । गत आर्थिक वर्षसम्म उद्योग क्षेत्रको योगदान घटेर १६.८ प्रतिशतमा झरेको छ । कृषिको योगदान दर पनि ३६.७५ बाट घटेर ३३.६ पुगेको जनाइएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.७९ प्रतिशत पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय कृषि उत्पादनमा कोशी प्रदेशको योगदान २२ प्रतिशत छ । यसैगरी, उत्पादनमूलक उद्योगको क्षेत्रमा कोशी प्रदेशको योगदान २१.९ प्रतिशत छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!