विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । तीनजना न्यायाधीशको पूर्ण इजलासमा उक्त मुद्दाबारे सुनुवाइ गर्न पेशीमा राखिएको भए पनि स्थगित भएको हो ।
न्यायाधीशहरू सुनिलकुमार पोखरेल, प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो । तीमध्ये पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले उनले हेर्न अस्वीकार गरेपछि आइतवार हुने भनिएको सुनुवाइ स्थगित भएको हो ।
इजलासमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पक्षका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएका थिए । त्यसपछि न्यायाधीश पोखरेलले अन्य न्यायाधीशहरुसँग छलफल गरी अलग हुने निर्णय गरेका थिए ।
सर्वाेच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गत बुधवार उक्त मुद्दा पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । बहालवाला मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधानविपरीत अर्काे मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए ।