संगालोखबर


विराटनगर । कोशी प्रदेशसहित देशका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना मेला आयोजना हुन लागेको हो ।

मेलाको शुभारम्भ भने कोशी प्रदेशबाट हुने विराटनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ गते मेलाको शुभारम्भ भएर १८ गते समापन हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

Advertisement

विराटनगरको सिटी प्यालेसमा बिहान १० बजे एक कार्यक्रमकाबीच मेलाको उद्घाटन गरिने राउतले बताए । कोशी प्रदेशमा १७ गतेबाट शुरु हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने साथै नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान गर्ने भन्ने विषयमा प्रयाप्त जानकारी लिन सक्ने बताइएको छ ।

रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दुको स्थलका रूपमा रहने अध्यक्ष राउतले बताए । वैदेशिक रोजगारीका सन्दर्भमा आवश्यक सूचना प्रवाह गर्ने तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीलाई न्यूनिकरण गर्ने सन्दर्भमा पनि मेला फलदायी हुने उनको भनाइ छ । मेलामा वैदेशिक रोजगारी बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न म्यानपावर कम्पनीका छाता संगठनहरूको पनि सहभागिता रहने जनाइएको छ ।

कोशी प्रदेशमा नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा हुने मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको सहभागिता हुनेछ । यस्तै सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले स्टल राख्ने जनाइएको छ ।

कोशीप्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेष प्रदेशको जनकपुरमा १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटबलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते र बागमती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!