संगालोखबर

विराटनगर । आन्तरिक रोजगारीलाई बढवा दिन कोशीसहित सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिने भएको छ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरू हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ ।

Advertisement

कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते मेला चल्नेछ । मेला विराटनगरको जहदा रोडस्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुने जनाइएको छ । यस्तै, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते मेला आयोजना हुनेछ । गण्डकीको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णालीको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते त्यस्तै बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुने जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द रिजालले दीर्घकालीन रूपमा आन्तरिक रोजगारीलाई बढावा दिन श्रमाधान रोजगार मेला आयोजना गरिएको बताएका हुन् ।

युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु हुने अपेक्षा मन्त्रालयको छ । मेलामा श्रमिकहरू तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासा पनि राख्न सक्ने जनाइएको छ । यससँग सम्बन्धित निकायले रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा आएका गुनासा सुनेर समाधानका लागि उपाय निकाल्ने वातावरण बन्ने सहसचिव रिजालले उल्लेख गरे ।

‘वैदेशिक रोजगारीको सन्दर्भमा कतिपय कुरा तल्लो तहसम्म पुर्याउन पनि नसकेको होला त्यो खालको सूचना सन्देश हामीले सम्प्रेषण गर्छौं । ठगी भइरहेका छन् भने त्यसको गुनासो पनि संकलन गर्ने काम मेलाबाटै गर्छौं । कहाँनेर सुधार गर्नुपर्ने छ पत्ता लागिसकेपछि समाधानमा पनि सहज हुन्छ’ उनले भने ।

यसका लागि वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष विभिन्न म्यानपावर कम्पनीका छाता संगठनले पनि मेलामा स्टल राख्ने उनको भनाइ छ । मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय, विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहनेछ । सामी परियोजना, रेमी योजना, नेपालउद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ, होटल संघ नेपाललगायतले मेलामा स्टल राख्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!