संगालोखबर

विराटनगर । पछिल्लो समय फेरि डेंगु संक्रमण बढिरहेको छ । देशभरका ५७ जिल्लामा यस्तो संक्रमण देखिएको भन्दै सरकारले सावधानी अपनाउन सुझाव दिएको छ ।

Advertisement

मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु संक्रमण पनि बढ्न थालेको हो । पछिल्लो तथ्यांकअनुसार ५७ जिल्लका ९०४ जनामा डेंगु संक्रमण पाइएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको जनाएका छन् ।

संक्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु संक्रमण हुने जनाइएको छ ।

डेंगु संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडुलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!