सत्तामा पुगेपछि तिमी
जब फस्छौ सत्तामोहको चक्रब्युहमा
र थाल्छौ राज्यशक्तिकै हस्तमैथुन
तब स्खलित हुन्छन् हाम्रा सपनाहरु !

Advertisement

सत्तामा पुगेपछि तिमी
जब बोक्न थाल्छौ पदलोलुपताको भारी
र बन्न खोज्छौ कुनै विदेशी एजेन्टको उत्तराधिकारी
तब स्खलित हुन्छन् हाम्रा चाहनाहरु !

सत्तामा पुगेपछि…
जब खुल्न थाल्छ तिम्रो खोक्रो राष्ट्रवादको नकाव
र सुँघ्न बाध्य हुन्छौ तिमी अल्पमतको गन्ध
तब देखाउन थाल्छौ तिमीले अर्को एउटा हिटलरी शासन

यो बेला, तिमीले केही सोच्दैनौ आफूबाहेक !
यो बेला, तिमीले केही देख्दैनौ आफूबाहेक !

र, जब तिमीमा भर्भराउन थाल्छ– अहंकारको ज्वाला
तब ग्यास चेम्बरभित्र हुलेर निर्ममतापूर्वक
हत्या गर्न थाल्छौ– व्यवस्था र संविधानको !
कैद गर्न थाल्छौ– जनमत र अभिव्यक्तिहरुको !
घाँटी थिच्न थाल्छौ– तिम्रा विरुद्ध उत्रीने सम्पूर्ण शक्तिहरुको !

तिम्रा यस्ता हर्कत देखेर
जब चिसा हुन्छन् हाम्रा मनहरु
तब तात्तिन थाल्छन् सडकहरु !
र ती तातिएका सडकहरुलाई
कसै गर्दा पनि
चिस्याउन सक्ने छैनौ तिमीले
त्यसपछि,
तिम्रो वर्तमान भने
वरफ भएर जम्न पुग्छ केवल इतिहासमा !

(ढकाल विश्वप्रेमी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!