काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले भने, वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको चुनाव हुन्छ ।’

चुनाव घोषणाको प्रमुख विपक्षी नेकपा एमालेका साथै सत्तारुढ राप्रपाले स्वागत गरेको छ । तर, मधेसी मोर्चाले भने दबावमुलक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

मधेसी मोर्चाको असन्तुष्टि छ नि भन्ने प्रश्नमा सरकारका प्रवक्ता कार्कीले भने, ‘अब देश चुनावमा गयो ।’

स्थानीय चुनाव घोषणाको तयारीका क्रममा सोमबार मन्त्रिपरिषद् बैठक मात्र तीन पटक बसेको थियो ।

पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गर्दै स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिने समय दिएको थियो । दिउँसो बैठकले १४ देशका राजदूत नियुक्तका लागि सिफारिस गरेको छ भने पाँच सचिवको सरुवा गरेको छ ।

साँझ बसेको तेस्रो बैठकले वैशाख ३१ मा स्थानीय चुनाव गर्ने औपचारिक निर्णय गरेको छ ।

अब देशभर स्थानीय चुनाव एकै मितिमा हुनेछ ।

सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आइतबार अबेर वैशाख अन्तिममा स्थानीय चुनाव गर्ने समझदारी भएको थियो ।

आयोगलाई साढे १० अर्ब दिने निर्णय

मन्त्रिपरिषद बैठकले स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगलाई झण्डै साढे १० अर्ब दिने निर्णय गरेको छ । १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रुपैयाँ चुनाव खर्च तत्काल निकासा गर्न अर्थ मन्त्रालयलाई भनिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!