संगालोखबर संवाददाता

 काठमाडौँ । वर्षामा नदीबाट बालुवा निकाल्न रोकिए पनि कागेश्वरी मनोहरा नगरपालिकास्थित वाग्मती नदी किनारबाट दिउँसो बालुवा निकाली राति ट्रकका ट्रक चोरी तस्करी भइरहेको छ । 

नगरपालिकाको वडा नं ४ थलीस्थित वाग्मती नदी किनारमा बालुवाको थुप्रो देख्न सकिन्छ । यहाँ बिहानैदेखि एक दर्जन कामदार नदीमै पसेर बालुवा निकाली रहेका भेटिन्छन् । नदीसँग जोडिएको सार्वजनिक जग्गामा रहेको बालुवाको ढिस्कोबाट पनि बालुवा निकालिएको छ ।

Advertisement

स्थानीय श्याम सिम्खडा महानगरीय प्रहरी प्रभाग थलीले बालुवा झिक्ने समूहसँग मिलेमतो गरी नदी र सार्वजनिक जग्गाबाट बालुवा निकाली चोरी तस्करी भइरहेको बताउनुहुन्छ ।

प्रहरी प्रभाग थलीका प्रहरी हवल्दार विनेश कार्की भने बालुवा झिकेको सूचना पाएर समात्न जाँदा बालुवा तस्करले बाटोमा राखेका मानिसले फोन गरेर भगाउने गरेकाले साबेल मात्र समातेर ल्याउनु परेको सुनाउनुहुन्छ । तस्करले काम लगाएका कामदारको २५ वटा साबेल कार्यालयमै रहेको उहाँले बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक अच्युतम् पुडासैनी भने जिल्ला समन्वय समिति काठमाडौँबाट बिल ल्याएर बालुवा लैजाने गरेकाले कारबाही चलाउन नसकिएको बताउनुहुन्छ ।

जिल्ला समन्वय समितिका प्रमुख गोपाल अधिकारी स्वीकृित प्राप्त र नवीकरण भएका खानी एवं वर्षायाममा बाढी आउने खहरेले थुपारेको बालुवा झिक्न मात्र ठेक्का लगाइएको दाबी गर्नुहुन्छ ।

वाग्मती नदीबाट भने बालुवा निकाल्न प्रतिबन्ध लगाइएको उहाँले जानकारी दिनुभयो । वाग्मतीबाट निकालिएको बालुवा समातेर कारबाही गर्न सकिने समन्वय समितिले जनाएको छ ।-रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement