काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी र सुरक्षा निकायको सक्रिय सहयोगको अपेक्षा गरेका छन् ।

Advertisement

प्रधानमन्त्री देउवाले आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नु संविधान कार्यान्वयनको महत्वपूर्ण आधार रहेको पनि स्पष्ट पारे । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ४० औं बैठकलाई सम्बोधन गर्दै उनले सरकारले निर्वाचन सँगसँगै मुलुकलाई समृद्ध बनाउन ध्यान केन्द्रित गरिरहेको पनि बताए ।

 समितिका अध्यक्ष समेत रहेका  प्रधानमन्त्री देउवाले आर्थिक सुधार कार्यक्रममार्फत् लगानीको अनुकूल वातावरण बनाउँदै मुलुकमा दीगो आर्थिक विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले मुलुकमा व्यापार घाटा बढ्दै गएकोमा चिन्ता पनि व्यक्त गरे । उनले पूँजीगत खर्च बढाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए ।

बैठकमा प्रधानमन्त्री देउवाले बाढि र डुबान पीडितको समस्या समाधान तत्काल सम्बोधन हुनेगरी काम गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।

 बैठकले संघीयता कार्यान्वयन, स्थानीय तहको संचालन र जनशक्ति व्यवस्थापन, बजेट परिचालनलगायतका विषयमा देखिएको समस्या तत्काल समाधान गर्न केन्द्रित हुने निर्णय पनि गरेको छ ।

 संघीयता कार्यान्वयन, स्थानीय तहको संचालन र जनशक्ति व्यवस्थापन, बजेट परिचालनलगायतका १३ वटा विषयमा देखिएको समस्या तत्काल सम्बोधन गर्ने निर्णय पनि गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिय वाग्लेले जानकारी दिए ।

बैठकले बाढि र डुबान पीडितले न्यायोचित ढंगले राहत पाए, नपाएको विषयमा पनि समिक्षा गरिएको थियो । राष्ट्रिय विकास समस्या समाधान समिति मुलुकको समग्र विकास निर्माणको कामलाई अनुगमन गर्ने सबैभन्दा सर्वोच्च निकाय हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!