संगालोखबर सम्वाददाता

काठमाडौं । नेपालमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन आयोजित तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज सुरू हुँदैछ । नेपाल सरकारको आयोजनामा दुई दिनसम्म हुने सम्मेलनमा नेपालबाहेक ५४ देशका लगानीकर्ता काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने जनाइएको छ ।

Advertisement

सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका समेत गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । सम्मेलनका लागि विभिन्न देशबाट लगानीकर्ता र विज्ञहरू काठमाडौं आइसकेका छन् । लगानी बोर्डका अनुसार सम्मेलनमा ९ खर्ब बराबरका आयोजनाहरू प्रस्तुत हुनेछन् ।

सम्मेलनमा ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षा लगायत विविध क्षेत्रका परियोजना प्रस्तुत गर्ने तयारी छ ।

सम्मेलनमा नेपाली ३ सय ८५ जना लगानीकर्ताहरू सहभागी हुनेछन् भने चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, यूएई का १३ र जर्मनीका १० जना लगानीकर्ताहरू सहभागी हुनेछन् ।

त्यस्तै, कोरिया, अस्ट्रेलिया र मलेसियाका ९–९ जना सम्मेलनमा भाग लिँदैछन् । पाकिस्तानबाट ८, सिंगापुरबाट ६, कतार र घानाबाट ५–५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४–४ जनाको सहभागिता रहनेछ ।

सम्मेलनस्थलमा लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष राखिनेछन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ ।

आइतबार पहिलो दिन उद्घाटनपछि दुईवटा मुख्य सत्र हुनेछन् । सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गर्ने तयारी छ । सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताहरूसँग साक्षात्कार गर्ने कार्यक्रमसमेत राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!