रबिन कटेल

विराटनगर । विराटनगरमा शुक्रबारबाट चौथो संस्करणको मिल्स गोल्डकप सुरु भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । एक पक्षीय खेल पस्किएको एपीएफका हरी कार्कीले खेल सुरुवातको ११ औं मिनेटमा गोल गरेर टिमको खाता खोले । एपीएफका कप्तान उज्वल चाम्लिङले निकालेको पासलाई हरीले गोलमा परिणत गरे ।

पहिलो गोल गरेको एक मिनेट बित्न नपाउँदै दिसन राईले २५ यार्डबाट गरेको प्रहारले जाली चुम्यो । दोस्रो गोल पनि एपीएफका कप्तान उज्वलले पास निकालिदिएका थिए । २२ औं मिनेटमा हरी कार्कीले गोल गरी अग्रता तेब्बर बनाए । भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरीले आकर्षक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले गरेको गोल टिमको जित सुनिश्चित गराउँन पर्याप्त बन्यो ।

खेलको ५५ औं मिनेटमा बर्दिबासका पवन पाख्रिनले सान्त्वना गोल फर्काए । खेलको सुरूवातदेखि आक्रामक खेल पस्किएको एपीएफले अन्तिमसम्म दबाबमा राख्न सफल भयो । प्रतियोगितामा शनिवार पेमा युवा क्लब विराटनगर र पियर फुटबल क्लब धरानबीच खेल हुने आयोजक मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ ।

बैशाख १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका ८ टिम सहभागि छन् । प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजार १ सय र उप-विजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement