Avatar photoRabin Katel

विराटनगर । मच्छिन्द्र एफसी काठमाण्डौले आठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न फाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–०  गोलले  हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख पुरस्कार पाएको छ भने उपविजेता सांग्रीलाले ५ लाख ५० हजारमा चित्त बुझाएको छ । विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर इतिहास रचेको मच्छिन्द्रले यो सिजनमा तीन वटा प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । मच्छिन्द्रले यसअघि केपी ओली कप र वाग्मती गोल्डकपको उपाधि जितेको थियो ।

मच्छिन्द्रलाई च्याम्पियन बनाउन छिरिङ गुरुङ र युसुप थपलियाले गोल गरे । दुवै जनाले अतिरिक्त समयमा गोल गरेका हुन् । निर्धारित ९० मिनेटको समयसम्म खेलमा गोलरहित बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको हो ।

अतिरिक्त समयमा सांग्रीलाका गोलकिपर विशाल सुनारको कमजोरीको फाइदा उठाउँदै ११३ औं मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङले गोल गरि टिमलाई अग्रता दिलाए । युसुप थपलियाले प्रहार गरेको कर्नर सांग्रीलाका गोलकिपर विशाल सुनारले पन्च गरेर बल किलियर गर्न सकेनन् । त्यसपछि रिबाउन्ड भएको बललाई छिरिङले हेडमार्फत सानदार गोल गरी अग्रता दिलाए । अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै ११९ औं मिनेटमा युसुप थपलियाले लामो दुरीबाट प्रहार गरेको बलले जाली चुम्यो ।

खेलको प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बू घोषित भए । उनले ११ हजार पुरस्कार पाएका छन् । बेस्ट गोलकिपर मच्छिन्द्रका बिशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरूले जनही २१ हजार पुरस्कार पाएका छन् । सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले पुरस्कार स्वरुप मोटरसाइकल पाएका छन् ।

बिजेता टिम तथा खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्हाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीलगायतले पुरस्कार वितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement