Avatar photoRabin Katel
प्रि-म्याच कन्फ्रेन्समा सांग्रीलाका कप्तान आशिष लिम्बु (बायाँ) र मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठ (दायाँ) ।

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेका मच्छिन्द्र एफसी काठमाण्डौ र घरेलु टिम सांग्रीला मोरङ एफए दुवैले उपाधि जित्ने दावी गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने गरी खेल्ने बताएका हुन् ।

विराटनगरको सहिद रङ्गशालामा शनिबार साँझ ६ः४५ बजे मच्छिन्द्र र सांग्रीलाबीच उपाधि भिडन्त हुदैछ । मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली सांग्रीला तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

Advertisement

सांग्रीलाले विभागीय टिम सशस्त्र प्रहरी बल  (एपीएफ) र पाहुना टोली भुटानको आरटीसी एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । सांग्रीलाले क्वार्टरफाइलनमा भुटानको आरटीसीलाई ३-२ गोलले र सेमिफाइनलमा एपीएफलाई सडनडेथमा ४-३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । 

विराट गोल्डकपमा पहिलो पटक फाइनल पुगेको मच्छिन्द्रले क्वार्टरफाइनलमा  कोलकाता साउर्थन समितिलाई २-१ गोलले पराजित गरेको थियो भने सेमिफाइनलमा सिक्किम ड्रागान भारतलाई १-० गोलले पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो ।

आ-आफ्नै दावी

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यसहित आएकाले लक्ष्य पुरा हुने बताए । ‘यो सँगै सिजनको तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ खेलाडी मैदान उत्रिनेछन्,’ उनले भने, ‘यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेका छौं, यो सिजनमा तेस्रो पटक गोल्डकपको उपाधि जित्ने लक्ष्य छ ।’

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पहिलो पटक फाइनल पुगेकाले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दावी गरे । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सकेसम्म राम्रो खेल्ने छौँ,’ उनले भने ।

यता, सांग्रीलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्न थप बल पुग्ने दाबी गरे । ‘मच्छिन्द्र राम्रो टिम हो, अनुभवी खेलाडी छन्, त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्छौ,’ उनले भने, ‘हामी ग्राउण्ड लेभलबाट खेल्नेछौँ ।’

सांग्रीलाका कप्तान अभिषेक लिम्बुले उत्कृष्ट खेल प्रदर्शन गरिने र घरेलु मैदानमा दर्शकको पनि राम्रो साथ मिल्ने भएकाले उपाधि जित्ने दावी गरे । ‘हाम्रो खेलले दर्शकको मन जित्नेमा आशावादी छौं,’ उनले भने, ‘अघिल्ला खेलको कमीकमजोरी सुधार गरी च्याम्पियन बनेरै छाड्नेछौं ।’

चैत १५ देखि सुरु भएको प्रतियोगितामा विदेशी तीन टिमसहित स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागि भएका छन् । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement