Avatar photoRabin Katel

विराटनगर । मच्छिन्द्र फुटबल क्लब, विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार राती भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १-० गोलले पराजित गर्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो ।

Advertisement

खेलमा मच्छिन्द्रका आयुष घलानले ९४ औं मिनेटमा निर्णायक गोल गरे । वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोल गर्दै टिमलाई फाइनल पुर्याउन सफल भएका हुन् । हिसब थपलियाको ठाउँमा मनिष दोस्रो हाफपछि मैदान प्रवेश गरेका थिए । निर्णायक गोल गर्ने आयुष प्लेयर अफ द म्याच घोषित भएका छन् । उनलाई नगद ११ हजारले पुरस्कृत गरिएको छ ।

जितपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले पहिलो हाफमा थुप्रै अवसर गुमाएकाले दोस्रो हाफमा रणनीति परिवर्तन गरेर विपक्षीलाई दबाबमा राख्न सफल भएको प्रतिक्रिया दिए । हारपछि सिक्किमका प्रशिक्षक कुन्जन भुटियाले खेलाडीको फिनिसिङ पक्ष कमजोर भएका कारण सेमिफाइनलमा हार ब्यहोर्नु परेको स्वीकार गरे ।

मच्छिन्द्रले अब उपाधिका लागि घरेलु टोली सांग्रीला मोरङ एफएसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार पुरस्कार पाउनेछन् ।

उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २१ हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement