Avatar photoRabin Katel

विराटनगर । घरेलु टिम सांग्रीला मोरङ, विराट गोल्डकपको फाइनल पुगेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा बुधबार राती भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफलाई सडनडेथमा ४-३ गोलले हराउँदै सांग्रीला उपाधि नजिक पुगेको हो ।

Advertisement

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट गरिएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ३-३ गोल गरे । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

सडनडेथमा आशिष चापागाईँ, अभिषेक लिम्बू, उमेश कार्की र किरन राईले गोल गरे । सांग्रीलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाए । एपीएफको तर्फबाट दिपेश धिमाल र कुलदिप कार्कीको प्रहार सांग्रीलाका गोलकिपर विशाल सुनारले सानदार बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिष महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए ।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भिड्दैछन् । उनीहरूबीचको विजेतासँग सांग्रीलाको उपाधि भिडन्त हुनेछ । एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेड काठमाण्डौलाई २-० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसीलाई ३-२ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

पहिलो सेमिफाइनलमा एपीएफ र सांग्रीलाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित बराबरी भयो । गोलको उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा छैटौँ संस्करणको विजेता टिम एपीएफ सेमिफाइनलबाटै घर फर्कियो ।

सांग्रीलाका गोलकिपर विशाल सुनार खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाएका छन् । जितपछि घरेलु टोली सांग्रीलाका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भएपनि पुरा समय आफ्नो टिमले नियन्त्रण गर्न सफल भएको बताए ।

यता, एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरूले पाएको गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नु परेको प्रतिक्रिया दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement