Avatar photoRabin Katel

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आफ्नो नियमित काम सकेर सोमबार साँझ झापाको कचनकवल गाउँपालिका-२ स्थित लोपोन्मुख गन्धर्व जातीको बस्तीमा पुगे । झमक्क साँझ परेका बेला मुख्यमन्त्री कार्कीको टोली आइपुग्दा गाउँले अचम्मित भए । मुख्यमन्त्री कार्की गन्धर्व वस्तीको अवलोकन सकेर राती ८ बजे शिव गन्धर्वको आँगनमा ओछ्याइएको म्याटमा पलेटी बाँधेर बसे ।

Advertisement

मुख्यमन्त्री आएको थाहा पाएपछि गन्धर्व वस्तीका बालबालिकादेखि वृद्धवृद्धासम्मको भिड लाग्यो । उनीहरूले खादा लगाएर मुख्यमन्त्रीलाई सम्मान गरे । मुख्यमन्त्री कार्कीले धेरै सम्मान गर्नु पर्दैन, आज यही खाना खाएर बस्ने बताएपछि स्थानीय छक्क परे । मुख्यमन्त्रीसहित उनको टोलीले त्यही घरमा खाना खाए । खानापछि मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरूसँग भलाकुसारी गर्न थाले । उनीहरूले आफ्ना व्यथा सविस्तार सुनाए । ‘मुख्यमन्त्रीज्यूले हाम्रा समस्या हामीसँगै बसेर सुनिदिनुभयो, हामीले पकाएको खाएर भलाकुसारी गर्नुभयो,’ स्थानीय नरमाया गन्धर्वले खुशी हुँदै भनिन्, ‘चुनाव सकिएपछि नेता देख्न पाउँदैन थियो, अहिले त मुख्यमन्त्री हाम्रैमा बास बस्न आउनुभयो ।’

गन्धर्व समुदायलाई ‘गाइने’ को संज्ञा दिएर हेप्ने गरिएको उनीहरूले गुनासो गरे । त्यहाँ रहेको आदर्श आधारभूत विद्यालयमा गन्धर्व जातीको पहिचान हुने गरि शिक्षा लागू गराई गिर्दै गएको शैक्षिक साख फर्काउन र समुदायमा साक्षरता दर वृद्धि गर्न पहलका लागि मुख्यमन्त्रीसँग उनीहरूले माग राखे ।

स्थानीय शिव गन्धर्व भन्छन्, ‘लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण गर्नुपर्छ । मुख्यमन्त्रीज्यूले यसलाई चासोका साथ लिनुभएकाले हामी आशावादी छौं ।’ उनीहरूले गन्धर्व जातीलाई लोपोन्मुख जातीको रूपमा सूचिकृत गर्न पनि माग गरे । ‘संविधानअनुसार यो जातीलाई लोपन्मूख जातीको रूपमा सूचिकृत गरिएमा हाम्रा अधिकारहरू प्राप्त हुन सहज हुन्छ,’ पूर्वाञ्चल गन्दर्व संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भने, ‘मुख्यमन्त्रीज्यूको यो काम गर्दिनू पर्यो ।’

मुख्यमन्त्री कार्कीले गन्धर्व जातीको समस्या समाधानका लागि भलाकुसारी गर्न आफू वस्तीमै आएर बास बसेको बताए । सामाजिक विभेदको अन्त्यसहित उनीहरूको सामाजिक अवस्था र आवश्यकता बुझ्ने प्रयास गरेको उनको भनाई छ । ‘अब मलाई अछुत कसैले भन्छ त ?, म त तपाईँहरूकैमा बसेँ खाएँ, यो विभेद अन्त्यका लागि तपाई हामी सबै लाग्नुपर्छ,’ गन्धर्वहरुसँग मुख्यमन्त्री कार्कीले भने ।

मुख्यमन्त्रीले आफ्नो बस्तीमै आएर बास बसी गुनासो सुनेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि गन्धर्व समुदायले खुशी व्यक्त गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement