संगालोखबर सम्बाददाता

विराटनगर । भुटानको रोयल थिम्पु फुटबल क्लब विराट गोल्डकपको क्वाटर फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार राती भएको रात्रिकालीन गोल्डकपको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० गोलले हराउँदै भुटानले विजयी सुरुवात गरेको हो ।

Advertisement

जितका लागि भुटानका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धार्थ गुरुङले समान १-१ गोल गरे । खेलको ३६ औं मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले टच गर्दा गोलमा परिणत भयो । भुटानले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे ।

पहिलो हाफमा दुई गोल खाएपछि दबाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रामक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाटै बाहिरिएको छ ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरू भएकाले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘केटाहरूले राम्रै प्रर्दशन गरेका थिए । तरपनि नतिजा आफ्नो पक्षमा आउन सकेन । त्यसमा दुःखी छैनौँ,’ उनले भने ।
यता, जितपछि भुटानका प्रशिक्षक उगेन दोर्जेले खेलाडीको राम्रो प्रर्दशनका कारण जित हासिल भएको प्रतिक्रिया दिए । ‘पहिलो हाफमा दुई गोल गरेपछि दबाब कायम गर्न सफल भयौ,’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीहरूले राम्रो प्रर्दशन गरेपछि नतिजा हाम्रो पक्षमा आयो ।’

खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाएका छन् । शुक्रबारको खेल त्रिभूवन आर्मी फुटबल क्लब र न्युरोड टिम एनआरटी काठमाण्डौबीच हुने आयोजकले जनाएको छ ।

चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहित स्वदेशी ‘ए’ डिभिजनका १० टिम सहभागि छन् । गोल्डकपको विजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार नगद पुरस्कार पाउनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!