रबिन कटेल/संगालोखबर

विराटनगर । युवा उद्यमीहरूले कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्ने गरी मोटर र्‍याली गर्ने भएका छन् । नेपाली युवा उद्यमी मञ्च विराटनगर, सुनसरी र झापा च्याप्टरले चैत १६ देखि १८ गतेसम्म मोटर र्‍याली गर्न लागेको हो ।

Advertisement

तीन वटै जिल्लाका युवा उद्यमीहरूले आज विराटनगरमा संयुक्त पत्रकार सम्मेलन गरेर कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली गर्न लागिएको जानकारी दिएका छन् । सुनसरीको इटहरीबाट सुरु हुने र्‍यालीले धनकुटा, पाँचथर, इलाम, झापा र मोरङको परिक्रमा गर्ने र्‍यालीका संयोजक एवं युवा उद्यमी मञ्च विराटनगरका सचिव रोमन कटेलले जानकारी दिए । ‘इटहरीमा मुख्यमन्त्री केदार कार्कीले फ्ल्याग अफ गरेर र्‍यालीको शुभारम्भ गर्नुहुन्छ,’ संयोजक कटेलले भने, ‘इटहरीबाट सुरु भएको र्‍यालीले कोशी प्रदेशका छ जिल्ला परिक्रमा गर्छ ।’

र्‍याली १६ गते इटहरीबाट धरान हुदै धनकुटाको मूलघाट पुगेर तमोर करिडोरबाट पाँचथरको फिदिम, इलामको साखेजुङ हुदै पानीटार पुगेर बास बस्नेछ । १७ गते सिस्पानी चियाबगान, कन्याम हुँदै झापाको दमक पुगेर बास बस्ने र १८ गते र्‍याली विराटनगर, इटहरी फर्किने कार्यक्रम तय भएको छ । र्‍यालीका क्रममा इलामको देउमाईस्थित महेन्द्र आधारभुत विद्यालयका विद्यार्थीहरूलाई फुटबल, ब्याडमिन्टन, क्रिकेट, चेस, भलिबल लगायतका खेलकुद सामग्री प्रदान गरिने युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रञ्जित भगतले जानकारी दिए । उनका अनुसार झापाको दमकमा युवा ऊद्यमीहरुबीच अन्तरक्रियात्मक कार्यक्रम पनि हुनेछ ।

२० वटा गाडीमार्फत गरिने र्‍यालीमा मोरङ, सुनसरी र झापाका ५० भन्दा बढी युवा उद्यमी सहभागि हुनेछन् । र्‍यालीले कोशी प्रदेशका युवा उद्यमीहरूलाई एकीकृत गराई उनीहरूबीचको व्यवसायीक सम्बन्ध प्रगाढ बनाउनुका साथै समग्र प्रदेशको पर्यटकीय विकासमा पनि टेवा पुग्ने युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष चन्द्र देवकोटा बताउँछन्‌ ।

युवा उद्यमीहरूले यसअघि पनि कोशी प्रदेशका विभिन्न जिल्लामा मोटर र्‍याली गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!