संगालोखबर सम्वाददाता

धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् ।

Advertisement

मंगलबार बिहान औद्योगिक ग्राम क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाहीको चेतावनीसमेत दिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा छन् । जसमा सेनेटरी प्याड र खाद्यान्न सामाग्रीहरू उत्पादन भए पनि परिमाण कम छ ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजिविकामा सहज हुने बताए । ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुनसक्छन् ।’ मुख्यमन्त्री कार्कीले भने ।

ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालन भएको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!