संगालोखबर सम्वाददाता

विराटनगर । चैत १५ गतेबाट सुरु हुने विराट गोल्डकपको उद्घाटन खेलमा भुटानको रोयल थिम्पु एफसी (आरटीसी) र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

Advertisement

विराटनगरको सहिद मैदानमा हुने रात्रिकालीन खेलमा आरटिसी एफसीले नेपाल पुलिस क्लबको सामना गर्ने तय भएको गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए । बेलुका पौने ६ बजेबाट सुरु हुने गोल्डकपको उद्घाटन मुख्यमन्त्री केदार कार्कीले गर्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपीएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड छन् । समूह ‘बि’ मा भारतको सिक्किम ड्रायगन्स, साउर्थन समिति कोलकाता, त्रिभुवन आर्मी फुटबल क्लब, न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेको गोल्डकपका प्रचार प्रसार समिति संयोजक ध्रुव सिग्देलले जानकारी दिए ।

२०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा आयोजना गरिदै आएको प्रतियोगितालाई ०६८ बाट नाम परिवर्तन गरी विराट गोल्डकप बनाइएको हो । अहिले चैत १५ देखि २४ गतेसम्म आठौं संस्करणको प्रतियोगिता गर्न लागिएको हो । तत्कालीन महेन्द्र गोल्डकपमा विभागीय पुलिस क्लबले तीन पटक उपाधि चुमेको थियो भने भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । ट्रष्टले पहिलो पटक आफै आयोजक भएर गर्न लागेको यो प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!