संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका सौन्दर्यकर्मीहरुले किसानलाई मल, बिउ र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगर कमिटी विराटनगरको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार विराटनगर–५ स्थित विशाल चोक नजिक रहेको बस्तीमा पुगेर सहयोग गरिएको हो ।

Advertisement

एक दर्जन भन्दा बढी किसान र विद्यार्थीहरुलाई सहयोग प्रदान गरेर वार्षिकोत्सव मनाइएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगरका अध्यक्ष भलि सुब्बाले जानकारी दिइन् । सौन्दर्यकर्मीहरुले हरेक बर्ष विभिन्न फरक-फरक सामाजिक काम गरेर वार्षिकोत्सव मनाउँदै आएका छन् ।

यसअघि विराटेश्वर वृद्धाआश्रम र पूर्वाञ्चल बालसेवा आश्रममा सहयोग प्रदान गर्नुका साथै रक्तदान र सरसफाइ कार्यक्रम गरिएको थियो । यस पटक किसानहरुलाई केही राहत पुर्याउँने उद्देश्यले मल, बिउ र विद्यार्थीलाई कपी, कलम, पेन्सिल लगायत शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष सुब्बाले बताइन् ।

कार्यक्रममा सौन्दर्यकर्मी युनियनकी केन्द्रिय उपमहासचिव ममता प्रधान, सदस्य गंगा तामाङ, प्रदेश उपाध्यक्ष ललिता धिमाल, सचिव कला डाँगी, पूर्व अध्यक्षद्वय सायदा तवसुम, अमिता पोखरेल लगायतले सामग्री प्रदान गरेका थिए ।

सो अवसरमा होली र नयाँ बर्षको शुभकामना आदानप्रदान पनि गरियो । राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी संस्थापक सदस्य स्वर्गीय पवी गुरुङको सम्झनामा दीप प्रज्वलन पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!