संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी जेठमा रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले जेठ १० देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रतियोगिता सञ्चालनका लागि आर्थिक व्यवस्थापन, प्रचारप्रचार र खेलमैदान व्यवस्थापन उपसमिति निर्माण गरिएको रारा फुटबल क्लबका निवर्तमान सचिव युवराज कटुवालले जानकारी दिए । प्रतियोगिताको यो ११ औं संस्करण हो । यसअघि गत वैशाख २२ देखि २८ गतेसम्म १० औं संस्करणको प्रतियोगिता गरिएको थियो । सो प्रतियोगितामा २९ लाख ६४ हजार ६ सय २० आम्दानी र २७ लाख ५७ हजार ३ सय ८० रुपैयाँ खर्च भएको विवरण आयोजकले सार्वजनिक पनि गरेको छ ।

यस पटक प्रतियोगिताको पुरस्कार राशि वृद्धि गर्ने निर्णय पनि भएको छ । तर, कति वृद्धि गर्ने भन्ने टुंगो भने भएको छैन । यसअघि विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख पुरस्कार प्रदान गरिएको थियो ।

धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप २०५८ सालबाट सञ्चालन गर्न थालिएको हो ।

रारा फुटबल क्लबको नयाँ समिति निर्माण

यसैबीच, आइतबार सम्पन्न साधारण सभाले रारा फुटबल क्लबको १३ सदस्यीय नयाँ समिति निर्माण गरेको छ । साधारण सभाले क्लबका अध्यक्ष मणि चेम्जोङलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा देवीबहादुर राई र राजेश निरौला, सचिवमा जीवन कटुवाल, सहसचिवमा डेकेन्द्र थापा र कोषाध्यक्षमा परमाया राई चयन भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!