संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले छ जना महिला उद्यमीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरूलाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

Advertisement

वर्कसप सञ्चालन गर्दै आएकी रामकुमारी राई, नाङ्लो बनाउने व्यवसाय गर्दै आएकी योजना राई, किराना पसल सञ्चालक अञ्जना राई, होटल व्यवसायी लिलाकुमारी राई र सिलाइकटाइ व्यवसाय गर्दै आएकी जीवनकुमारी राईलाई सम्मान गरिएको छ । त्यस्तै, नमुना कृषि तथा पशुपालन समितिको तर्फबाट अध्यक्ष कृष्णकुमारी राईलाई पनि सम्मान गरिएको छ ।

नाङ्लो बनाउने काम गर्दै आएकी योजनालाई मापदण्डको उत्कृष्टताका आधारमा नगद १५ हजार प्रदान गरिएको छ भने अरुलाई जनही १२/१२ हजार नगद प्रदान गरिएको छ ।

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, प्रमुख प्रशासकीय अधिकृत नविन कार्की लगायतले उनीहरूलाई दोसल्ला ओढाई नगदसहित प्रमाणपत्र प्रदान गरेर सम्मानित गरे ।

व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमी/व्यवसायीहरुलाई प्रोत्साहनका लागि नगदसहित पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । सहिदभूमि गाउँपालिकाले हरेक वर्ष महिला दिवसमा विभिन्न रचनात्मक गतिविधि गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!